नेपाल–चीन संयन्त्र बैठक- मिति पर्खँदै नेपाली कूटनीतिज्ञ

मंसिर २९, काठमाडौँ – नेपाल र चीनबीचको अर्थ र परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकले स्थगन भएको पाँच महिना बित्दासमेत निरन्तरता पाउन सकेको छैन। लामो समयदेखि नेपालका तर्फबाट पहल हुँदा पनि बैठक अघि बढ्न नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्। चिनियाँ पक्षले यसबारे औपचारिक धारणा व्यक्त गरेको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

‘हामी चिनियाँ पक्षले प्रस्ताव गर्ने तिथि पर्खंदै छौं। कहिलेसम्म पर्खनुपर्ने हो थाहा छैन। चीनले छिट्टै मिति प्रस्ताव गर्ने जनाएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अर्थ र परराष्ट्र सचिवस्तरीय बैठक नभएसम्म चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसमेत हुने सम्भावना छैन। दुईपक्षीय सहयोग र सहकार्यसम्बन्धी सबै प्रक्रिया त्यही बैठकले तय गर्ने हो।’
गत भदौ ८ का लागि निर्धारित नेपाल(चीन अर्थ सचिवस्तरीय बैठक अन्तिम समयमा स्थगित भएको थियो। बैठकमा भाग लिन चिनियाँ उपवाणिज्यमन्त्री गाओ यान काठमाडौं आउने भनिएको थियो। त्यसको चार साताअघि परराष्ट्र सचिवस्तरीय स्थायी संयन्त्र बैठक पनि स्थगन भएको थियो।
बैठक स्थगन भएपछि परराष्ट्र सचिव शंकरदास बैरागी चिनियाँलाई फकाउन बेइजिङ नै पुगेका थिए। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने निश्चित भएको भए दुवै बैठक हुने थिए। ब्रिक्स बैठकमा भाग लिन भारत जाँदा राष्ट्रपति सी कम्बोडिया र बंगलादेश भ्रमणमा गए पनि नेपाल आएनन्।
चिनियाँ पक्षले यी बैठक स्थगित हुनु र भ्रमण नहुनुमा नेपालको उदासीनता मुख्य कारण रहेको बताउँदै आएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले भने नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कारण बैठक स्थगित नभएको भन्दै चिनियाँ पक्षले तत्काल द्विपक्षीय बैठक गर्न नचाहेको बताए। ‘चिनियाँ पक्षले आन्तरिक कारण देखाउँदै अर्थ सचिवस्तरीय र त्यसअघि परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठक हुन नसक्ने जानकारी गराएको थियो। तर अहिले बैठक गराउन पहल थालेको छ,’ परराष्ट्र अधिकारीले भने, ‘बैठकको नयाँ मिति चीनका तर्फबाट आउनेछ।’
‘अहिले म बिदामा काठमाडौंमा छु। राजदूत पौडेल (लीलामणि) सँगको भेटमा चिनियाँहरूले बैठक सुचारु गर्ने बताएका थिए। बैठक लम्ब्याउन नहुनेमा उनीहरू पनि छन्,’ बेइजिङस्थित नेपाली दूतावासका नियोग उपप्रमुख हरिशचन्द्र घिमिरेले भने, ‘बैठकका लागि कूटनीतिक पहल भइरहेको छ।’ चीनको दक्षिण एसिया मामिला हेर्ने महाशाखा प्रमुखले नवनियुक्त नेपाली राजदूत पौड्यालसँग छिट्टै मिति पठाउने बताएका थिए।
गत मंसिर ४ मा ल्हासामा सम्पन्न सहसचिवस्तरीय बैठकमा भएको सहमतिबारे छलफल गर्न पनि संयन्त्रको बैठक आवश्यक रहेकाले त्यसमा कुरा अघि बढदै गरेको परराष्ट्र अधिकारीले जानकारी दिएका छन्। दुईपक्षीय एजेन्डाहरूबारे धेरै कुरा त्यही बैठकमा तय हुनेछ। दुवै बैठक काठमाडौंमा हुने भनिए पनि चिनियाँ पक्षले सारेको थियो।
नयाँ मिति तोक्ने बताउँदै आएको चीनले अझै पनि समय दिन सकेको छैन। परराष्ट्र सचिव बैरागीले बैठक गर्ने विषयमा छलफल भइरहेको बताए। काठमाडौं आएका नयाँ चिनियाँ राजदूत र बेइजिङ पुगेका नेपाली राजदूत दुवैले यसमा पहल गरिरहेको जानकारी अधिकारीहरूले दिए।
चीनको उच्चस्तरीय नेता आगामी साता नेपाल आएपछि कूटनीतिक बैठकहरूसमेत फुकुवा हुने परराष्ट्र अधिकारीहरूको आकलन छ। चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ आगामी पुस ३ मा नेपाल आउन लागेका छन्। चीनको सक्रिय नेताका रूपमा चिनिने उनी २५ सदस्यीय टोलीको नेतृत्व गर्दै चार्टर फ्लाइटमा नेपाल आउन लगेका हुन्।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा युवा र प्रभावशाली नेतासँग भेटवार्ता गर्नेछन्।