विश्व उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्की सम्मानित

मंसिर २६, काठमाडौं –  विश्व उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्की एक कार्यक्रममा सम्मानित भएका छन् । उनी स्वर्ण पदक प्रशंसापत्र सहित नगद पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसिजको काठमाडौंको टोखामा भएको ४३ औ महाधिवेशनको उद्घाटन समारोहमा उनी लगायत बिभिन्न क्षेत्रका १० युवा युवतीलाई सम्मान गरिएको हो ।

उनी साहसी युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका हुन् । नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट पुरस्कार लिएका कार्कीले भने, ”पुरस्कार नै सबै चिज त हैन तैपनि यस्ता कुराले आगामी दिनमा आफूमा थप अगाडी बढ्ने प्रेरणा मिल्दछ ।” आफूले मेची महाकाली उल्टो मोटरसाईकल यात्रा पार गरेको बताउदै कार्कीले भने, ”भविश्यमा पनि आफूमा रहेको कला देश विदेशमा देखाएर नेपालको नाम विश्वमा राख्ने धोको छ ।” किर्तीमानी यूवाहरुको संगठनका अध्यक्ष समेत रहेका कार्कीले १९ बर्षको उमेरमै उल्टो मोटरसाईकल यात्रा पार गरेर सबैलाई चकित तुल्याएका थिए ।

सो कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष भेष बहादुर थापा लगायत जेसिजका बिभिन्न शाखा अध्यक्ष लगायत हजारौ जेसिज सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रम मंसिर २५ देखि २८ सम्म चल्ने आयोजकहरुले बताएका छन्।