सबैभन्दा बढी हिंसा श्रीमान्‌बाटै

मंसिर २५, काठमाडौं – लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा ६२ प्रतिशत लैङ्गिक हिंसाका घटना श्रीमान् वा नजिकका व्यक्तिबाट गरिने तथ्याङ्क सार्वजनिक भएको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

हरेक वर्षझैँ यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा शुक्रबार राष्ट्रिय महिला आयोगद्वारा राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कले उक्त कुरा देखाएको हो ।
आयोगद्वारा लैङ्गिक हिंसा–न्यूनीकरण–प्रयास र सम्भावना शीर्षकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली (जीबीभीआईएमएस) मा सन् २०१५ र २०१६ को जुनसम्म सङ्कलित तथ्याङ्कले समाजमा महिलाले आफ्नो रक्षक वा आफ्नो सबैभन्दा नजिक मानिएको सम्बन्धभित्रबाट हिंसा भइरहेको देखाएको हो ।
लैङ्गिकतामा आधारित हिंसाको केन्द्रीकृत तथ्याङ्कको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सन् २०११ मा राष्ट्रिय महिला आयोगको प्रमुख नेतृत्वमा ‘लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली’को सुरुवात गरिएको थियो।
त्यसमा महिला हिंसाविरुद्ध काम गरिरहेका विभिन्न दश संस्थाले लैङ्गिकतामा आधारित हिंसाका पीडितहरूको उजुरीका आधारमा तथ्याङ्क सङ्कलन एवम् भण्डारण गर्न जीबीभीआईएमएस प्रणाली अपनाएकोले ती संस्थाको समन्वयमा तयार पारिएको लैङ्गिक हिंसाका दुई हजार ३७५ उजुरीमध्ये ७८ प्रतिशत पीडितहरू विवाहित वा लिभिङ्ग टुगेदर जस्ता सम्बन्धमा रहेकाहरू पाइएको छ, ती घटना ४८ प्रतिशत साँझ वा रातको समयमा भएको पनि तथ्याङ्कले देखाएको छ ।
कार्यक्रममा पूर्वमन्त्री चन्द्रप्रकाश मैनालीले शिक्षित, आर्थिक रूपमा सबल, राजनीतिलगायत अन्य विविध क्षेत्रमा पहुँच भएपछि समाजबाट लैङ्गिक हिंसा न्यूनीकरण हुँदै जाने धारणा राखे।
उनले संविधान प्रदत्त महिला–पुरुष समान भन्ने बुँदाको कार्यान्वयनका लागि महिलाको पहुँच सबै क्षेत्रमा समान हुनु आवश्यक छ, त्यसबाट लैङ्गिक हिंसामा न्यूनीकरणका लागि बल पुग्ने विश्वास व्यक्त गरे।
महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत महिला हिंसा निवारण शाखा प्रमुख उपसचिव विनिता भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै महिला हिंसा न्यूनीकरणका लागि शाखाले गरिरहेको विविध कार्यको जानकारी दिइन्।
त्यसैगरी केयर नेपालका लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम संयोजक विसिका थापाले कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक हिंसा न्यूनीकरणका लागि हरेक व्यक्तिले आफ्नै घरबाटै सुरु गर्नुपर्ने भएकोले केयर नेपालले घरको काममा महिला–पुरुषले समान सहभागिता जनाउन प्रयोगात्मक कार्यक्रम विभिन्न स्थानहरूमा सञ्चालन नै गर्ने गरेकोबारे प्रस्ट पारिन्।
कार्यक्रममा महिला आयोगका सविच रामप्रसाद भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै घरभित्रै महिला–पुरुषले समान अवसर पाएका क्षेत्रमा महिला हिंसाको घटना नभएको बताए।
घर शान्ति नै विश्व शान्तिको आधार र दिगो विकासका लागि लैङ्किक हिंसारहित समाजको नारासहित सुरु भएको महिला हिंसाविरुद्ध यस वर्षको १६ दिने अभियान शनिबार समापन हुँदैछ ।