अझै हटेनन् प्रहरीका घुमुवा

मङ्सिर २१, काठमाडौँ – सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले थालेको काम अलपत्र परेको छ।

घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो । अहिले पनि देशभरिका प्रहरी कार्यालयमा सादा पोसाकमा घुमुवा प्रहरी कार्यरत छन् । जो सूचना संकलन र अपराध अनुसन्धानभन्दा बढी हाकिमलाई खुसी बनाउन केन्द्रित हुने गर्दछन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
प्रहरीको अपराध अनुसन्धान विभागले बनाएको कार्ययोजनाअनुसार अहिलेसम्म देशभरिका घुमुवा हटिसक्नुपर्ने हो । विभागले तयार पारेको योजना सबैबाट स्वीकृत भई लागू गरिएको थियो । सूचना संकलन र मुद्दा शाखाका प्रहरीलाई अपराध अनुसन्धान समूह गठन गर्ने प्रक्रिया अघि बढेको थियो, जुन अलपत्र परेको छ।
अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्मा भने घुमुवाहरूलाई हटाउनेभन्दा सुधार्ने काम भइरहेको बताउँछन् । ‘घुमुवा भन्नेबित्तिकै अहिले नकारात्मक छवि छ,’ सिलवाल भन्छन्, ‘उनीहरूलाई प्रहरीको सूचना संकलक बनाउन एकातर्फ तालिम र अर्कातर्फ क्रसचेकका काम भइरहेका छन् ।’
देशभरिका सबैजसो प्रहरी कार्यालयमा सूचना संकलनका लागि सादा पोसाकमा प्रहरीहरू कार्यरत छन् । कतिपय स्थानमा उनीहरूले राम्रो काम गरे पनि केही स्थानमा सूचना संकलनभन्दा पैसा संकलनमा केन्द्रित हुने भएकाले घुमुवाहरू प्रहरीमा बदनाम छन् । प्रायः एउटै कार्यालयमा काम गर्ने खराब व्यक्तिहरूसँग सम्बन्ध हुने गर्दछन् । उनीहरूमार्फत नै प्रहरीका हाकिमहरूले पनि ‘सेटिङ’ मिलाएर पैसा खाने गरेको आरोप छ ।