अन्तर्राष्ट्रिय फिल्मी अवार्ड जितेर फर्केका दयाहाङ र दीपकलाई विमानस्थमा भव्य स्वागत

काठमाडौं –  चलचित्र ‘सेतो सूर्य (ह्वाइट सन)’ले सिङगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।

दीपक रौनियारको निर्देशनमा बनेको चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा टाइटल अवार्ड जितेको सम्भवतः यो पहिलो पल्ट हो । एसियामा प्रतिष्ठित मध्येको यो फिल्म फेस्टिभलमा ५५ हजार पाँच सय सिङगापुर डलर सहित ‘सेतो सूर्य’ उत्कृष्ट भएको हो ।
सिङगापुरबाट आज (आइतबार)मात्र यस चलचित्रका निर्देशक दीपक रौनियार र अभिनेता दयाहाङ राई नेपाल फर्किएका छन् । ‘सेतो सूर्य’ले अवार्ड जितेको खुसियाली र स्वागत गर्नको लागि यसै चलचित्रका निर्माता छिरिङ रितार शेर्पा, रविन्द्र सिंह बानियाँको साथै चलचित्रको टिम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा गरिएको स्वागतले आफूलाई एसियाकप नै जितेको जस्तो लागेको अभिनेता राईले बताए । ‘सेतो सूर्य’को जित सम्पुर्ण नेपाली सिनेमा जित भएको निर्देशक रौनियार बताउँछन् ।
चलचित्रले भेनिस फिल्म फेस्टिभलमा पनि महत्वपुर्ण विधामा अवार्ड हात पारेको छ। चलचित्र ‘सेतो सूर्य’ यहि मंसिर २४ गते शुक्रबारबाट प्रदर्शनमा आउनेछ ।