मन्त्री ज्यु यस्तो सास्ती कहिलेसम्म ?

मङ्सिर १५ , काठमाडौँ – भिमसेन तामाङ मंगलबार विहान ३ वजे सवारी चालक अनुमतिपत्र फर्म बुझाउन एकान्तकुनास्थित यातायात कार्यालय पुगे । उनको विहान ११ वजेसम्म पनि पालो आएन ।

‘सफ्टवेयर अपग्रेड नहुँदा २ महिनादेखि लाइसेन्स बन्द थियो, अहिले त पालो पाउन नै ग्राहो भयो’ उनले भने, ‘८ घण्टादेखि लाइनमा बसेको छु, पालो नै आएको छैन ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात निमावलीलाई संशोधन गरेर लिखित तथा प्रयोगात्मक परीक्षा उत्र्तीण हुनेले ३ महिना पर्खनु नपर्ने व्यवस्था गरेपछि लाइसेन्स लिनेको भीड बढेको हो । यसअघि लिखित र प्रयोगात्मक परीक्षामा उर्तीण नहुँदा पुनस् परीक्षाका लागि ३ महिनासम्म पर्खनुपर्ने प्रावधान थियो ।
लाइसेन्स लिन भीडमा बस्नु परेको, प्रक्रिया निकै झन्झटिलो रहेको, विचौलिया हावी भएको जनगुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक अचानक एकान्त कुनास्थित सवारी अनुमति कार्यालय पुगे ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
उनी पुग्दा अनुमतिपत्रको फर्म बुझाउन लाइनमा बसेका सेवाग्राहीले ‘भ्रष्ट कर्मचारी चाहिंदैन, तत्काल कारबाही गरियोस्’ भन्दै चर्को नाराबाजी गरे । अचानक मन्त्रीलाई देख्दा सेवाग्राही खुशी भए । अधिकांशले मन्त्रीसमक्ष भने, ‘अनुमतिपत्र लिन पनि घण्टौं लाइनमा बस्नु पर्ने ?जनताले यस्तो सास्ती कहिलेसम्म भोग्नु पर्ने ?’
सेवाग्राहीको चर्को नारा सुनेपछि मन्त्री लेखक एकछिन अक्क न बक्क भए । यातायातमन्त्रीले विरलै एकान्त कुनास्थित यातायात कार्यालयको निरीक्षण गर्छन् तर, लेखक अचानक कार्यकक्षमै पुग्दा कर्मचारी निकै त्रसित देखिन्थे ।
निकै बेर सेवाग्राहीको गुनासो सुनेका मन्त्री लेखकले तत्काल अनलाइनबाट फर्म बुझाउने पद्धतिको विकास गर्न यातायात विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई निर्देशन दिए ।