दाहाल र देउवाले संशोधन दर्तामा ढिलाई गर्नुको भित्री कारण के हो ?

मङ्सिर १३, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्ष निकालेका छन् ।

मोर्चाका नेताहरूले संशोधन विधेयक दर्तापछि समेत आफ्ना माग पूरा नहुने प्रतिक्रिया दिएपछि सत्तारूढ प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्र मोर्चासँग थप आश्वस्त हुन खोजेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मोर्चाको स्पष्ट धारणा आएपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने उनीहरूबीच समझदारी भएको छ ।दुई नेताको समझदारीपछि आइतबार मन्त्रिपरिषदको बैठकले संविधान संशोधन विधेयक अघि बढाउनेबारे कुनै निर्णय गरेन ।

कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् बैठकबाट संशोधन प्रस्ताव पारित गरी संसदमा दर्ता गर्ने तयारी गरेका थिए ।

तर मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापति देउवाबीच सत्तारूढ पार्टी र मधेसी मोर्चाको स्पष्ट धारणा नबनाई संविधान संशोधन प्रस्ताव अघि बढाउँदा प्रत्युत्पादक हुने निष्कर्ष निस्किएपछि दर्ता गर्ने प्रक्रिया स्थगित भएको हो ।

अधिकतम सहमति जुट्ने अवस्था सिर्जना गरेर मात्र संशोधन प्रस्ताव दर्ता गर्ने उनीहरूबीच समझदारी छ ।