राष्ट्र बैंकको भारतलाई आग्रह– भारुको वैधानिक स्रोत देखाए, बैंकबाट साट्न दिनु

मंसिर ६ , काठमाडौं— भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित उक्त समितिले राष्ट्र बैंकले तोकिदिएको फारम भरेर बैंक खाताबाट मात्रै नोट सटही गर्न सकिने गरी मोडालिटी तयार गरेको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

नोट सटहीको मोडालिटी र वैधानिक स्रोतबाट आम्दानी भएका नोट पहिचानबारेमा अवधारणा पत्रमा यी विषय समावेश गरिएको डेपुटी गभर्नर सिवाकोटीले जानकारी दिए ।
नेपालस्थित भारतीय राजदूतावासले नोट सटहीको भरपर्दो विधि (मोडालिटी) मागेपछि राष्ट्र बैंकले भारु व्यवस्थापन समिति गठन भएको थियो । समितिले नोट सटहीको मोडालिटी र वैधानिक नोट पहिचानबारेमा अवधारणा पत्र तयार गरेको छ । अवधारणा पत्र सम्बन्धमा भारतीय राजदूतावासका कर्मचारीहरूसँग अनौपचारिक छलफल भए पनि राष्ट्र बैंकले औपचारिक रूपमा बुझाइसकेको छैन ।
‘नोट सटहीलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा अवधारणा पत्र निर्माण गरिरहेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटीले भने, ‘भारतीय राजदूतावासमार्फत भारत सरकारलाई बुझाउँछौं । त्यसपछि भारतको जवाफ के हुन्छ । त्यसकै आधारमा नोट सटहीबारे निर्णय हुनेछ ।’
बैंकिङ प्रणालीमार्फत नेपालमा रहेको सबै वैधानिक नोट सटही होस् भन्ने राष्ट्र बैंकको उद्देश्य भएको र सोहीअनुरूप मोडालीटी तयार भएको उनले जनाए ।
राष्ट्र बैंकले बनाएको मोडालीटीमा ग्राहकको पूर्ण पहिचान(केवाईसी) भएको बैंक खातामार्फत अनिवार्य गरिएको छ । यस्तै, नोट सटहीका लागि ग्राहकले राष्ट्र बैंकले तोकेको फाराम भर्नुपर्ने छ ।
फाराममा सटही गर्न नोटको नम्बर, आम्दानी वैध भएको भरपर्दो स्रोत, एउटा बैंकबाट मात्र सटही गर्ने प्रतिवद्धतालगायत थुप्रै विवरण समावेस भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुङगानाले बताए । ‘नेपालीसँग रहेको सबै वैधानिक रकम साटीयोस भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘ यसकारण प्रतिव्यक्ति २५ हजार सटही गर्नुपर्‍यो भनेर भारतलाई भनेका छैनौं । तर, सर्वसाधारणले २५ हजारसम्म सटही सुविधा पाएकाले न्यूनतम त्यत्ति रकम साटीनुपर्छ भन्ने हाम्रो माग हो ।’
राष्ट्र बैंकले बनाएको मोडालिटी अनुसार भारु पाँचसय र हजार दरका नोट सटहीको क्रममा भरपर्दो स्रोत नभए र नोट नक्कली निस्किए कानून बमोजिम कारवाही भोग्ने कुरामा ग्राहकले पहिले नै प्रतिवद्धता जनाउनुपर्ने छ । यस्तै, नोट सटहीका लागि बैंक खाता अनिवार्य हुनुपर्नेछ । एउटाभन्दा बढी बैंकमा खाता भएपनि एउटै खाताबाट मात्र नोट सटही सुविधा पाइनेछ । कुनै ग्राहकले एकभन्दा बढी खाताबाट नोट सटही गरेको भेटिएमा राष्ट्र बैंकले कानुन बमोजिम कारवाही गर्नेछ ।
राष्ट्र बैंकले तयार गरेको मोडालिटी भारतलाई स्वीकार्य भए सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा ‘होम नोटिस’ अनिवार्य रुपमा प्रकाशित गर्नुपर्नेछ । नोट सटही गर्ने ग्राहकले पूर्ण रुपमा केवाईसी भर्नुपर्नेछ । भारतले नोट सटहीका लागि कडाई गरे अनुरुप नेपालले पनि सकेसम्म भारतलाई आश्वस्त पार्न खोजेको छ ।