यसरी हुन्छ अब हिउँदमा पनि ‘शून्य लोडसेडिङ’

मंसिर ५, काठमाडौं- अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ। आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने प्राधिकरणको योजना छ।

भारतबाट हाल शनिबार साँझसम्म २४८ मेगावाट बिजुली आयता भइरहेको छ। भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ। नेपाल र भारतका ऊर्जा अधिकारीहरूबीच शनिबार भारतमा सम्पन्न सहमति अनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाट अर्को चालिस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैयाँ कुसाहाबाट ५०-५० गरी थप दुई सय ५० मेगावाट बिजुली दिन भारत तयार भएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
बैठकमा सहभागी नेपाली पक्षका सदस्य एवम् विद्युत प्राधिकरणका विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार टनकपुरबाट तत्काल चौविसै घन्टा तीस मेगावाट बिजुली ल्याउन दुबै देश सहमति भएका छन्।
सम्झौतामा प्राधिकरणको योजना अनुगमनका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र पावर ट्रेडिङ इन्डियाका श्रीहरि शरणले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टनकपुरको बिजुली प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा भारु (पाँच रुपैयाँ पचास पैसा) मा नेपालले खरिद गर्नेछ ।
यसका अतिरिक्त टनकपुरबाटै नेपालले थप चालीस मेगावाट बिजुली ल्याउने अर्को सहमति भएको प्राधिकरणका प्रवक्तासमेत रहेका अधिकारीले बताए ।
टनकपुरस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मरको क्षमतालाई पचास एमभीएबाट एक सय एमभीएमा वृद्धि गरी थप बिजुली ल्याउन सहमति भएको हो । यसका लागि आगामी बुधबार दुवै देशका प्राविधिक टोलीले टनकपुर सबस्टेसनको संयुक्त अवलोकन गरी आगामी डिसेम्बरको अन्तिम साता वा जनवरीको पहिलो साताभित्रै बिजुली आपूर्ति गरिने उनले बताए । टनकपुरबाट व्यापारिकका अतिरिक्त नेपालले महाकाली सन्धिअनुसार सात करोड युनिट (बाह्रदेखि सोह्र मेगावाटसम्म) निःशुल्क लिइरहेको छ ।
भारतसित भएको सहमतिअनुसार उसले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन (व्यापारिक) बाट थप असी मेगावाट बिजुली नेपाललाई आपूर्ति गर्ने भएको छ । हाल सबस्टेसन र ट्रान्सफर्मरको व्यवस्था नभएकाले असी मेगावाटमात्र बिजुली आयात भइरहेकोमा सय एमभीएको ट्रान्सफर्मर भारतको पूर्णियाबाट ल्याएर बढीमा एक महिनाभित्र ढल्केरबरमा जडान गर्ने सहमति भएको छ । यसको बन्दोबस्तीका लागि भारतको पावर ग्रिडले उसको केन्द्रीय विद्युत् प्राधिकरणलाई दुईतीन दिनभित्रै प्राविधिक प्रतिवेदन पेस गर्ने र उसको सहमतिपछि थप असी मेगावाट बिजुली आयात हुने अधिकारीले बताए ।
नेपाल-भारत ऊर्जासचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) बैठकले आगामी डिसेम्बरभित्र ढल्केबरको बिजुलीलाई दुई सय बीस केभीमा चार्ज गरी थप असी मेगावाट बिजुली ल्याउने निर्णय भएको थियो । तर नेपालतर्फ चिनियाँ ठेकेदारले ढल्केबरमा निर्धारित समय (डिसेम्बर) मै सबस्टेसन निर्माण गर्न नसक्ने भएकाले तत्कालका लागि पूर्णियाबाट विस्थापन गरिएको ट्रान्सफर्मर जडान गर्न लागिएको हो ।