अब कक्षा १२ मा मात्र एसएलसी

कार्तिक २८, काठमाडौं – शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो। खबर आजको नयाँ पत्रिकाबाट हामीले लिएका हौ।

उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालय सातै प्रदेशमा राख्न सिफारिस


शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको ६ सदस्यीय प्राविधिक समितिले सहसचिवस्तरको कर्मचारी प्रमुख रहने गरी सातै प्रदेशमा कार्यालय राख्न तथा अहिलेको संरचनाभन्दा केही फरक हुनेगरी संरचना तयार गर्न सुझाब दिएको हो ।
प्रतिवेदनमा सातवटै प्रदेशमा सहसचिवसरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय कार्यालयहरूको व्यवस्थापन गर्ने सिफारिस भएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गर्न सिफारिस गरेको छ । कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा परीक्षा बोर्डले सञ्चालन गर्नेलगायतका सिफारिस भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिने
शिक्षा मन्त्रालयले कक्षा १० को परीक्षालाई ‘माध्यमिक शिक्षा परीक्षा, कक्षा १०’ नामकरण गरेको छ । आठौँ संशोधनपछि शिक्षा ऐनमा माध्यमिक तहको कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट हुने उल्लेख छ । यसअघि एसएलसी परीक्षा कक्षा १० र एसएलसी परीक्षा कक्षा १२ राख्ने विषयमा धेरै छलफल भए पनि सुझाबका आधारमा शिक्षामन्त्रीस्तरीय निर्णयबाट परीक्षाको नामकरण भएको हो । मन्त्रालयले १८ कात्तिकको निर्णय २३ कात्तिकमा राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । १९९० देखि कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन हुँदै आएको थियो ।
०७३ देखि निरन्तरतामा ब्रेक लाग्ने भएको छ । अर्को व्यवस्था नहुन्जेल कक्षा १० को परीक्षा पहिलेदेखि सञ्चालन गर्दै आएको कार्यालयले गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले अब कक्षा १२ को एसएलसी परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने र संक्रमणकालीन अवस्थामा कक्षा १० को परीक्षा पहिले एसएलसी सञ्चालन गरेको कार्यालयले लिने बताए । सबैको सुझाबअनुसार परीक्षाको नामकरण भएको गौतमको भनाइ छ ।