लोडसेडिङमुक्त राजधानी आकर्षक तर…

कार्तिक २७, काठमाडौं –‘राजधानी सहर काठमाडौंलाई लोडसेडिङमुक्त गर्न परीक्षण भइरहेको छ। यो काम चुनौतीपूर्ण छ तर व्यवस्थापन गर्न लागिएको छ,’ ऊर्जा मन्त्री जनार्धन शर्माले बिहीबार मन्त्रालयमा यसो भनिरहँदा काठमाडौं उपत्यका बिजुलीमय थियो। यो निरन्तर हुने उनले दाबी गरे। उनले भने, ‘लोडसेडिङ घटाउने हो तर यसमा घन्टा नतोकौ, काम गरेपछि परिणाम देखिन्छ।’ मन्त्रीको यो भनाइले उपत्यका अँध्यारोमुक्त हुने आशा जगाउँछ तर तथ्य र वास्तविकता फरक छन्। शर्माले भाषण, योजना र तथ्यलाई तालमेल मिलाउन सके भने मात्र सर्वसाधारणले विश्वास गर्ने आधार बन्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
नेपाल विद्युत प्राधिकरणले समेत काठमाडौं उपत्यकालाई यो हिउँदमा लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। तर मन्त्रालय र प्राधिकरणकै केही पदाधिकारी यो असम्भव रहेको तर्क गर्छन्। यसो त बिजुली आपूर्ति हेर्दा अघिल्लो वर्षको तुलनामा केही सहज छ यो वर्ष। प्राधिकरणको अनुसार गत वर्षभन्दा यो वर्ष केन्द्रीय प्रसारण लाइनमा १५० मेगावाट बिजुली थपिएको छ। मागमा खासै वृद्धि भएको छैन। यही आधारले पनि प्राधिकरणलाई अहिले माग र आपूर्तिबीच सन्तुलन मिलाउन सजिलो भएको छ।