वैदेशिक रोजगार विभागको लापरबाहीका कारण हजारौँ सेवाग्राही प्रभावित

कार्तिक २६, काठमाडौं – वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन मध्यरातसम्म सेवाग्राही लाइनमा बसेका छन् । बिहीबार रातिसम्म पनि स्वीकृति नपाउँदा विदेश जान लागेका केही कामदारले टिकटसमेत रद्द गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।

दसैँ, तिहार र छठको बिदामा काम नभएकाले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा सेवाग्राहीको भीड लागेको हो । वैदेशिक रोजगारीमा जानेले विभागबाट पूर्वस्वीकृति र अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था छ । अन्तिम स्वीकृति लिन गएका सेवाग्राही मध्यरातसम्म लाइनमा बसेका हुन् ।
स्रोतका अनुसार विभागको कार्यालयमा पूर्व र अन्तिम स्वीकृति लिन आठ हजारसम्म फाइल कार्यालयमा चाङ लागेका छन् । श्रम स्वीकृति लिन बिहान विभागमा पुगेकाहरू मध्यरातमा काम सकेर फर्किएका थिए । शुक्रबार ११ बजे साउदी अरब जाने टिकट लिएर बसेका मोरङका अम्बर राईले स्वीकृति लिन निकै दुःख पाएको गुनासो गरे । मध्य राति कार्यालय अगाडि भेटिएका उनले भने, ‘दिउँसो दुई बजेदेखि लाइनमा बसेका थिएँ ।’ खोटाङकी निर्मला राईले पनि विरामी बच्चालार्ई छोडेर बिहानैदेखि खाना समेत नखाई लाइनमा बसेको बताइन् ।
लाईनमै रहेकी राइले बिरामी बच्चा छोडेर दिनभर लाइनमा बस्दा पनि रातिसम्म श्रम स्वीकृति नपाएको बताइन् । उनले भनिन, ‘बच्चा बिरामी छ, लेडिजलाई प्राथमिकता दिनुस भनें कसैले सुनेनन् ।’ उनको पनि शुक्रबार बिहान १० बजे साउदी अरबका लागि फ्लाइट छ । चाडपर्वको विदा तथा कार्यालय प्रमुख विदेशमा रहेका कारण श्रम स्वीकृतिका काम रोकिएको कर्मचारीको भनाई छ ।
बुधवार काम सुरु गर्न खोजे पनि प्राबिधिक समस्याका कारण नसकिएको कर्मचारीले बताए । बिहिबारबाट काम सुचारु भएको कार्यालय प्रमुख कृष्ण दवाडिले जानकारी दिए । दवाडिले बिहिबार मध्यराति भने, ‘म कार्यालयमै छु, अहिले पनि काम गरिरहेको छु ।’ सामान्य अवस्थामा समेत श्रम स्वीकृतिका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता छ ।