नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन हुन अझै दुई वर्ष लाग्ने

कात्तिक २३ सिन्धुपाल्चोक- भूकम्पपछि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन हुन अझै दुई वर्ष लाग्ने भएको छ । तातोपानी नाका सञ्चालन हुने कि नहुने भन्ने अन्योल रहेकै बेला चिनियाँ पक्षले सञ्चालन गर्ने बताए पनि अझै दुई वर्ष कुर्नुपर्ने भएको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
चीनसँग सीमा जोडिएका तीन जिल्लाका अधिकारीहरूसँगको भेटमा चीन तातोपानी नाका सञ्चालन गर्न तयार भए पनि भौतिक संरचना निर्माण नहँुदासम्म भने नाका सञ्चालन गर्न नसक्ने प्रस्ट पारेको छ । सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्लाका अधिकारीसँगको भेटमा चिनियाँ अधिकारीहरूले आफूहरू तातोपानी नाका सञ्चालन गर्न तयार रहेको बताएका थिए । चीनले एक साताअघि नाका जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, अध्यागमन, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख र भन्सार प्रमुखलाई चीन भ्रमणमा लगेको थियो । भ्रमणको नेतृत्व गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार भूकम्पले चिनियाँ क्षेत्रको लिपिङ, खासा बजारलगायतका सडक संरचना पनि बिग्रेकाले भौगोलिक अवस्थाको अध्ययन गरेपछि मात्रै नाका सञ्चालन गरिने जानकारी गराएको छ ।
‘भूकम्पले चिनियाँ क्षेत्र पनि तहसनहस भएको रहेछ, अहिले नै नाका सञ्चालन गर्दा सुरक्षा र भौगोलिक कठिनाइ भएकाले नाका सञ्चालन गर्न अझै दुई वर्ष लाग्न सक्ने जानकारी चिनियाँ पक्षले दिएका छन्,’ सिलवालले राजधानीसँग भने, ‘चीन पनि तातोपानी नाका छिटो सञ्चालन गर्न इच्छुक देखिएका छन्, तर भौगोलिक अवस्थाको अध्ययन नगरी सञ्चालन गर्न नसक्ने जानकारी आएको छ, नाका सञ्चालन त हुन्छ, तर समय लाग्छ ।’
भूकम्प र भोटेकोसीको बाढीले क्षति भएको चिनियाँ क्षेत्रको राजमार्ग अहिले निर्माण भइरहेको चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई जानकारी गराएका थिए । अबको केही दिनमा साना सवारीसाधनहरू सीमासम्म आउन सक्ने गरी चिनियाँ पक्षले सडक निर्माण गरिरहेको छ । ‘चिनियाँ पक्ष नेपालसँग सीमा जोडिएका अरू नाकासमेत सञ्चालन गर्न सकारात्मक छन्, त्यसैले मुख्य नाका बन्द गर्ने उनीहरूको कुनै योजना छैन,’ सिलवालले भने ।
नाका सञ्चालनका लागि अरनिको राजमार्गलाई चिनियाँ पक्षले प्रमुख प्राथमिकतामा राखेको जानकारी गराएको सिलवालले बताए । भूकम्पपछि खासामा रहेका चिनियाँ नागरिकहरूलाई अहिले चीनको सिगात्सेमा लगेर राखिएको र आफूहरूले समेत त्यहाँका नागरिकहरूलाई भेट गरेको सिलवालले जानकारी दिए । ‘खासाबाट सिगात्से गएका चिनियाँ नागरिकहरूले पनि आफूहरू खासामा नै जानुपर्ने माग राख्दै चिनियाँ सरकारलाई दबाब दिइरहेका रहेछन् ।
एकपटक त ठूलो नारा जुलुस नै भएछ, कम्युनिस्ट देशमा यसरी विरोध हुनु पनि ठूलै दबाब हुँदो रहेछ,’ प्रजिअ सिलवालले भने, ‘ठूलै विरोध भएपछि चीन सरकारका उच्च कर्मचारीहरूले सम्झाएपछि मात्रै उनीहरू त्यहाँ बस्न राजी भएका रहेछन् ।’ सिन्धुपाल्चोकबाट प्रमुख जिल्ला अधिकारी सिलवाल, जिल्ला प्रहरी प्रमुख रवीन्द्र केसी, स्थानीय विकास अधिकारीलगायतका सरकारी टोली चीन भ्रमणमा गएको थियो । भ्रमणमा आफूहरूले तातोपानी नाका सञ्चालन गर्न गम्भीरतापूर्वक कुरा राखेको प्रजिअ सिलवालले जानकारी दिए । भ्रमणमा आफूहरूले तातोपानी नाका सञ्चालन गर्न गम्भीरतापूर्वक कुरा राखेको सिलवालले जानकारी दिए ।
तातोपानी नाकाको भौगोलिक अवस्था प्रतिकूल रहेकाले चिनियाँ पक्षले अब अरनिको राजमार्ग आफूहरूको ‘मोडल’अनुसार निर्माण गरिने जानकारी दिएको भ्रमणमा सहभागी स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । भोटेकोसी नदीको दुवैतर्फ पिलर राखेर त्यहाँमाथि पुल बनाएर सडक सुचारु गर्ने आशय चिनियाँ पक्षले राखेको स्थानीय विकास अधिकारी शाहीले जानकारी दिए । बाढीलगायत अन्य दैवी विपत्तिले अरनिको राजमार्ग पटकपटक बिग्रेपछि बाह्रबिसेसम्म चिनियाँ मोडलमा सडक विस्तार गर्ने योजना चिनियाँ पक्षको रहेको शाहीले जानकारी दिए ।