लोकमानले छरेको भ्रम तोडियो, उनलाई बचाउन खोज्नेहरु सिद्धिन्छन्: माधव नेपाल

काठमाडौं – एमाले नेता माधव नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पारित हुने कुरामा ढुक्का छन् । उनी भन्छन्, ‘जसले लोकमानको साथ दिन्छन् तिनीहरु जनताको नजरमा गिर्नेछन् । उनीहरुलाई व्यक्तिगत रुपमा मात्र होइन, उनीहरुको दललाई समेत घाटा हुनेछ ।’ उनै एमाले नेता नेपालसँग गरेको कुराकानी:

 

अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता भएको छ । यस विषयमा एमालेभित्र पनि विवाद छ भन्ने सुनिन्छ नी ?

एमालेमा यस मामिलामा कुनै विवाद छैन् । नेकपा एमाले एकताबद्ध भएर यो विषयलाई अगाडि बढाउन चाहन्छ । र, सफलताको बिन्दुमा पुर्‍याउन चाहन्छ । एमाले जहिले पनि संविधानको कार्यान्वयनको पक्षमा छ । एमाले जहिले पनि संबैधानिक निकायले आफ्नो जिम्मेवारीको राम्रो गरी पालना गरुन्, त्यसको दुरुपयोग नगरुन भन्ने पक्षमा छ । त्यसो हुनाले त्यो जोसुकै ब्यक्ति किन नहोस् । यदि उसले आफ्नो ओहोदाको दुरुपयोग गर्छ, पदको दुरुपयोग गर्छ र राजनीतिक बदला वा लाभको भावनाबाट चल्छ, या अनुचित लाभ उठाउने उदेश्यले लाग्दछ भने त्यस्तो प्रबृत्ति बोकेका जोसुकै व्यक्ति भएपनि त्यसका विरुद्ध एमाले दह्रो गरी उभिन्छ । नेकपा एमाले यस्तो मामिलामा ढुलमूल, के गर्ने कसो गर्ने भनेर सोच्ने पक्षमा छैन । सोचेर कदम चाल्दछ । र, कदम चालिसकेपछि सफलतामा पुर्‍याई छाड्छ ।

तपाईले यो विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर के कुरा गर्नु भयो ?

मैले उहाँहरुसँग भेटेर कुराकानी गरेँ । किनभने केही असझदारी हुनसक्छन् भन्ने कुराहरु आए । त्यो असझदारी नहोस् भनेर मैले कुराकानी गरेँ । फोनमा पनि, भेटेर पनि कुराकानी भए । एउटा हल्ला मच्चाइएको थियो कि एमालेले कांग्रेस र माओबादीको सरकारलाई टुटाउन, फुटाउन, गिराउन खोजेको हो भन्ने । त्यस्तो केही पनि होइन । मैले विश्वास दिलाउन खोजें । त्यही कुरा प्रधानमन्त्री र शेरबहादुर जीलाई पनि भने । एमालेप्रति विश्वस्त हुनका लागि र एमालेले सोचेर, सल्लाह गरेर, एकमत भएर यस कुरामा अगाडि बढ्न चाहन्छ भनेर बताएँ । उहाँहरुले मनमा रहेका दुविधा, आशंका र मनमा रहेका कुराहरु छन् कि भनेर मनमा नराख्न प्रष्ट भने । मलाई लाग्छ कि उहाँहरु यसमा प्रष्ट हुनुहुन्छ । पुष्पकमल दाहालले त पहिला पनि यो कुरा गर्नुपर्छ र पास गर्नुपर्छ भनेर भन्नु भएकै थियो । शेरबहादुरजी पनि पास गर्ने पक्षमै हो । उहाँको पार्टीमा केही समस्याहरु छन् । तर, जे समस्या भएपनि जो मान्छे अहिले भ्रष्टाचारको काण्डमा जोगाउन र बचाउन खोज्छ, ढुलमुले नीति लिन्छ, त्यस्ताहरुका संरक्षक भएर आउँछ । नेपाली जनताबाट त्यो नाङ्गिने छ । उसको राजनीतिक करियर समाप्त हुनेछ । त्यसको असर ब्यक्तिमा मात्रै पर्ने छैन, राजनीतिक दलमा पनि पर्नेछ । त्यसो हुनाले जनताको चाहना के छ भने यस्तो प्रबृत्तिलाई निरुसाहित गरियोस्, रोकियोस् । सबैंधानिक निकायहरु आफ्नो दायराभित्र बसुन् । अदालतको कुनै वास्ता नगर्ने, चुनौती दिने र अरुहरु (आफुलाई विरोध गर्नेहरु)लाई पनि छानी छानी कारबाही गर्ने हिसाबले आतंकित बनाउने काम भयो । पहिला पनि सुर्यनाथ उपाध्याय थिए नी । उहाँले त्यस्तो केही पनि गर्नु भएन । सिधै तथ्य तंथ्याङ संकलन गर्ने काम गर्नुस् । कसैले अनुचित काम गरेको छ भने तथ्याङ्क राख्नुस् । तथ्याङ्कको आधारमा हल्ला गरिकन होइन, पूर्व जानकारी दिएर होइन, चिठी पठाएर या फोन गरेर या कानमा सुचना पुर्‍याएर, ब्ल्याकमेलिङ गर्ने हिसाबले होइन । इमानदारिताको साथ सबै निकायलाई स्वच्छ, प्रभाबकारी बनाउने हिसाबले भुमिका खेल्ने हिसाबले काम गरोस् । अनुचित कुरालाई कुनै साथ र समर्थन रहने छैन ।

जे आधार र तर्कहरु लोकमानसिंह कार्कीको विपक्षमा आए । त्यो त पहिला देखि नै आइरहेको थियो । महाअभियोगका लागि यति नै बेलाको समय किन रोजियो ?

पहिले नियुक्ति गर्नु नै गल्ती थियो । हामीले त शुरु देखि नै भनेका थियौं, ‘उहाँलाई हुदै हुदैन ।’ उहाँ आइसक्नु भएपछि विश्वास दिलाउन खोज्नुभयो, ‘म बदलाभावमा लाग्ने छैन । म इमानदारिताको साथ काम गर्नेछु ।’ उहाँको कुरो मात्रै रहेछ । कामको ठीक विपरित सामाजिक राजौटा जस्तो उहाँले आफुलाई ‘सुप्रिम’ ठान्ने गरेको सुनिन्छ । अख्तियारको अफिसभित्र पनि आफ्नो कर्मचारीलाई त्यही किसिमको ब्यवहार गरेको सुनिन्छ । त्यस्तो चीज हुँदा पनि हामी टुलुटुलु हेर्छौ भने कसरी लोकतन्त्र आएको ठहरिन्छ ? लोकतन्त्र भनेको त्यही हो त ? कुनै एउटा निकायको मान्छेले मनपरी ढंगले काम गर्छ, उसले आतंक मच्चाएको हुन्छ । बदलाभावबाट चलिरहेको हुन्छ । आफ्नो दुनो सोझाउन र फाइदा लिनको लागि, आफ्ना मान्छेहरुलाई नियुक्ती गर्नको लागि, आफुले लाभ लिनको लागि सबै ठाँउमा मान्छे सरुवा गर्न लागि पर्छ भने त्यो भन्दा आफ्नो ओहोदाको दुरुपयोग अरु के हुन सक्छ ?

त्यतिखेर कार्कीलाई नियुक्ती नगरी नहुने त्यस्तो के बाध्यता रहेको पाउनुभएको थियो ?

सबै भ्रममा परे । उहाँको मिठो कुरा सुनेर भ्रममा परे । मान्छे इमानदार रैछन् कि क्या हो ? स्वच्छ ढंगले काम गर्छन् कि क्या हो ? सम्पत्ति, लोभलालचा र राजनैतिक बदलाभावबाट चल्ने मान्छे होइन भन्ने खाल उहाँहरुलाई परेछ । तर, उहाँहरुले पनि भेट्दै, हेर्दै गइसकेपछि भ्रममा पो रहेछौं भन्ने उहाँहरुलाई पर्‍यो । भ्रममा परिसकेपछि अहिले सबैको आँखा खुलेको छ । यतिसम्म हेर्नुस् न, प्रधानमन्त्री भारतको भ्रमणमा जानु भएको छ । भारतको भ्रमण गएको बेला यहाँ पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री माथि भष्ट्राचारको मुद्धा चल्न सक्छ भनेर खुलेयाम भन्नु भनेको त ब्लाकमेलिङ हो । भारत भ्रमणमा गएको प्रधानमन्त्रीलाई यसरी सार्बजनिक रुपमा भन्दा पनि केही पनि नहुने । यो भन्दा ठुलो विडम्बना अरु के हुन सक्छ त ? यस्ता कुरा त धेरै छन् धेरै । सबै कुरा आउदै गर्दैछन् । यस्तो कुराबाट अरुले पाठ सिक्नेछन् । जुन सुकै ब्यक्तिहरुले, शक्तिहरुले यस्ता मान्छेलाई बोक्छन् भन्ने तिनीहरु पनि बदनाम हुन्छन् । तिनीहरु पनि जनताको नजरमा गिर्नेछन् ।

कार्कीलाई महाअभियोग लगाएपछि अख्तियारका पदाधिकारीले राजनैतिक नेतृत्व माथि छानविन गर्न सक्तैन भन्ने पनि सुनिन थालेको छ नी ? अख्तियारलाई कमजोर बनाइदैछ भन्ने पनि भन्न थालिएको छ ?

सुर्यनाथ उपाध्याय जीले कारबाही गर्दा कसले विरोध गर्‍यो ? गर्‍यो कसैले ? बरु उहाँको प्रतिष्ठा माथि उठेको छ । उहाँले सप्रमाण कारबाही गर्नुभयो । बरु कुनै काम गर्न शुरु गरेको छैन, अख्तियारले हात हालिहाल्ने । कुनै विमान किन्न पाएको छैन, किन्न पाउदैनौं भन्ने । निर्माण शुरु भएको छैन, किन निर्माण गर्न थालिस् भनेर रोकिदिने । हाइड्रो पावर प्रोजेक्ट शुरु गर्न पाएको छैन, उसको फाइल नै खोसिदिने । यो सबै गर्न पाइदैन । कार्यकारी गर्ने काम अख्तियारको होइन । कार्यकारी काम भनेको सरकारको काम हो । भइसकेको काममा भ्रष्ट्राचार भएको छ भने प्रमाण जुटाउने । जुटाइसकेपछि बल्ल हात हाल्ने । त्यसैले त अफिस राखेको छ । अफिसले त जम्मै सुचना संकलन गर्न सक्छ नी । त्यही प्रमाणको आधारमा ‘मुभ’ गर्नुपर्‍यो ।

दलका नेताहरु पनि शुद्ध छैनन् । दलका नेताहरुले जहाँ जहाँबाट आर्थिक श्रोत जुटाउथे । त्यही माथि लोकमानले आक्रमण गरे । त्यसको नतिजा महाअभियोग हो भन्नेहरु पनि छन् नी ?

यो त जे पनि भन्न सकिन्छ । अहिले कार्कीलाई सुरक्षा गर्नका लागि, डिफेन्ड गर्नका लागि अनेक खालका तर्ककुतर्क आउन सक्छन् । त्यस्ताको भ्रममा पर्नुहुदैन । अहिले एउटै चीज छ कि यो प्रबृत्तिलाई निरुसाहित गरौं । र, हाम्रो राज्यका सबै निकायमा रहेका मान्छेले स्वच्छ भाबका साथ, इमानदारिताको साथ र विधि प्रक्रियाको साथ काम गुरुन् । त्यस्तोमा कसैलाई पनि अबरोध खडा नगरियोस् । अनुचित गर्छ भने दण्डित गर्ने कुरामा पनि कुनै अबरोध खडा नहोस् ।

कार्कीले राजनैतिक नेतृत्व विरुद्ध कुनै कदम चाल्दै थिए भन्ने सुचना थियो ?

त्यस्तो मलाई थाहा छैन ।

महाअभियोग पारित भएपछि पद मुक्त मात्रै हुन्छ कि छानविन पनि हुन्छ ?

यो त संविधान र कानुनमा के छन् । त्यसको आधारमा हुन्छ । अदालतले प्रक्रिया अगाडि बढायो भने जम्मै छानविन हुनेछ । राजिनामा दिएपछि के हुन्छ भन्ने कुरा संविधान र कानुन पल्टाएर हेर्नुपर्छ ।

 साभार – कान्तिपुर