भूतपूर्व गोर्खा सैनिकको सुविधा बढाउने प्रतिबद्धता

कात्तिक २०, काठमाडौँ –भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भूतपूर्व गोरखा सैनिकहरूको सुविधा बढाउने प्रतिबद्धता गरेका छन् । शुक्रबार पोखरामा भूतपूर्व गोर्खा सैनिकले गरेको कार्यक्रममा उनले भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरूलाई पाएको सेवा तथा सुविधामा भारी वृद्धि गर्ने प्रतिबद्धता जनाए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नेपालमा रहेका पूर्वसैनिकहरूले वार्षिक तीन खर्ब १० अर्ब पेन्सन र अन्य सुविधाबापत पाएकोमा आउँदो वर्षबाट एक खर्ब बढाएर चार खर्ब दश अर्ब पु¥याउने उनले बताए । मुखर्जीले कल्याण कोष, छात्रवृत्ति, शिक्षा र अन्य विषयमा समेत रकम बढाउने बताए । कार्यक्रमकै बीचमा राष्ट्रपति मुखर्जीलाई भारतीय भूतपूर्व गोर्खा सैनिकहरूले ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, दूतावासमार्फत ज्ञापनपत्र बुझाएर सो विषयमा राष्ट्रपति मुखर्जीले सम्बोधन गरेका थिए ।
पूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ मुखर्जीले पूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ रहेको बताएका छन् । भारतीय सेनामा काम गरेर निवृत्त भएका पूर्वसैनिक र तिनका परिवारलाई सम्बोधन गर्दै उनले राष्ट्र निर्माणसँगै नेपाल–भारतको सम्बन्ध सुधार्ने काममा लाग्न उपस्थित सबैलाई आग्रहसमेत गरे । उनले आफू भारतीय सेनाको सर्वोच्च कमान्डरको हैसियतले वीर गोर्खाली सैनिकको अगाडि पोखरामा आएर बोल्न पाउँदा आफूमा गौरवको अनुभूति भएको बताए ।
प्राचीन कालदेखि नेपाल र भारतबीच घनिष्ठ, बहुमुखी, सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको बताउँदै उनले यो चिरकारसम्म निरन्तर रहने कामनासमेत गरे । हाल ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत रहेको र एक लाख २६ हजार सेवानिवृत्त भएको उनले बताए । ‘नेपाल र भारतको निकटतम् सम्बन्धको आधारस्तम्भ खुला सिमाना, चाडपर्व, रीतिरिवाज मात्रै होइन, भारतमा रहेका नेपाली वीर सैनिकको माया हो,’ मुखर्जीले भने । नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सरकार सधैँ तयार रहेको उनको भनाइ थियो