बाँकेमा डेंगु लागेका ३ जनाकाे मृत्यु

कात्तिक १३, नेपालगन्ज – बाँकेमा डेंगु लागेका तीन जनाकाे मृत्यु भएकाे छ । भेरी अञ्चल अस्पतालमा शुक्रबार साँझसम्म डेंगुका ४ जना विरामी उपचारको लागि भर्ना भएका छन् । अस्पतालका फिजिसियन डा. राजन पाण्डेले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्म ४ जना भर्ना भएको र एक जना चिकित्सकको निगरानीमा रहेका छन् ।

 

नेपालगन्ज-७ फुलटेक्राको एक बिरामी भने नियमित चिकित्सकको निगरानीमा रहने गरी घरमै बसेर उपचार गराउदै आएका छन् ।उनले अस्पतालले डेंगुका विरामी क्रमशः बढ्न थालेपछि छुट्ट्रै सेल तयार गरी उनीहरुको उपचार सुरु गरिएको जानकारी दिए ।

 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पनि डेंगुको लक्षण भएका विरामीहरु दिनहुँ जसो आउने गरेको अस्पतालका फिजिसियन डा.आसिम किडवाईले जानकारी दिए ।उनले दिएको जानकारी अनुसार सो अस्पतालमा डेंगुबाट प्रभावित विरामी नियमित २५-३० जना आउने गरेका छन् । उनले अस्पतालको केही क्याबिनलाई आईसोलेट गरेर उपचार सुरु गरेको जानकारी दिए ।उनले भने-‘शुक्रबार साँझमात्र मेरो क्लिनिकमा आएका बिरामी मध्ये ३ जनामा डेंगुको लक्षण देखिएको छ ।’ उनले अस्पतालमा आउने डेंगुका विरामीलाई चढाउनु पर्ने रक्तकोष (प्लेट) को अभाव भएको कारणले पनि अधिकांश विरामीहरुलाई बुटवल तथा अन्त्र रिफर गरिएको जानकारी दिए ।

उनले अस्पतालमा आएका सिरियस विरामी मध्ये ३ जनाको डेंगुको कारणबाट मृत्यु भएको समेत जानकारी दिए । उनले भने-‘अस्पतालमा आएका विरामी मध्ये ३ जनाको क्लिनिकल डाईगोनोसि र ल्याबको रिर्पोट नआउदै मृत्यु भएको हो । उनीहरुमा डेंगु कै लक्षण देखिएको थियो ।

 

यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले डेंगुको कारण मृत्यु भएको भन्ने कार्यालयलाई जानकारी नभएको बताए । उनले भेरी अञ्चल अस्पतालमा छुट्टै सेल खडा गरेर उपचार सुरु गरेको बताए । उनले डंेगु रोग फैलाउने लामखुट्टेका लार्भाको खोजि गरी नष्ट गर्न थालिएको जानकारी दिए ।

डेंगुका बिरामीहरु दिनहुँ जसो बढ्दा रक्तसञ्चार केन्द्रमा रक्तकोष छुट्टयाउने मेसिन बिग्रदा उपचारमा कठिनाई भएको चिकित्सकहरुले जनाएका छन् ।