एकैदिन झण्डै ४० किलो सुन तथा झण्डै १६ सय किलो चाँदी बिक्री भएपछि व्यवसायी उत्साहित

 

 

कात्तिक १३, काठमाडौं – तिहारको लागि सुनचाँदीको कारोबार बढेपछि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार एकैदिन झण्डै ४० किलो सुन तथा झण्डै १६ सय किलो चाँदी बिक्री भएपछि व्यवसायी उत्साहित भएका हुन् ।

यो पोहोर भूकम्पपछिकै धेरै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विशेषगरी चाँदीको सिक्का, थाल, दियो, कलश, गणेश र लक्ष्मीको मूर्ति धेरै बिक्री भएको थियो । गएको आइतबारदेखि दैनिक ३० किलोसम्म सुन र ६ सय किलोभन्दा धेरै चाँदी कारोबार भएकोमा शुक्रबार कारोबार बढेको हो ।

तिहारपछि विवाहको लगन सुरु हुने भएकाले कारोबार बढ्ने व्यवसायीको अनुमान छ । तिहारपछि दैनिक कम्तिमा पनि ३० किलो सुन कारोबार हुने अनुमान गरिएको महासंघ महासचिव डिएस रत्न शाक्यले बताउनुभयो ।

सुनको भाउ महँगो हुँदा बेच्नेको संख्या धेरै भएकामा अहिले भाउ घटेपछि किन्नेको भिड लाग्न थालेको उहाँले जानकारी दिनुभयो । तर माग अनुसार उपलब्ध नहुँदा समस्या भएको उहाँको गुनासो छ । वाणिज्य बैंकले दैनिक १५ किलोसम्म सुन आयात गर्ने गरेका छन् ।