भारतले आफ्ना कर्मचारीलाई नेपाल भ्रमणका लागि सहुलियत दिँदै

कार्तिक १३ , काठमाडौँ – भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ ।

अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा पठाउने र त्यसका लागि सुविधा उपलब्ध गराउने गरेको छ । प्रतिवर्ष ५ लाखभन्दा बढी भारतीय कर्मचारीले त्यस्तो सुविधा लिने गरेका छन् । भ्रमण सूचीमा नेपाल थिएन । नेपालका तर्फबाट आग्रह भएपछि भारतले सूचीमा राख्ने आश्वासन दिएको छ ।

गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकारले त्यस्तो सूचीमा पार्न आग्रह गरेको थियो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले यसले नेपालको पर्यटनमा फाइदा पुग्ने बताए । भारतले अन्य मुलुकबाट पनि नेपाल प्रवेश गर्न सक्ने सुविधासमेत उपलब्ध गराउन लागेको छ ।

चीनले आफ्ना कर्मचारीलाई नेपाल भ्रमणका लागि सहुलियत दिँदै आएको छ । नेपालको आग्रहबिनै चीनले दुई वर्षअघि सूचीमा नेपाललाई राखेको थियो । चिनियाँ कर्मचारीको नेपाल भ्रमणमा रुचि बढ्ने र युरोप अमेरिकाभन्दा सस्तो पनि हुने भएपछि उनीहरूको नेपाल मोह बढेको थियो । अघिल्लो वर्ष मंसिर र पुस महिनामा चीनका करिब पाँच सय सरकारी अधिकारीले नेपालको भ्रमण गरेको जानकारी परराष्ट्र मन्त्रालयसँग छ । अनौपचारिक रूपमा पर्यटक भएर आउनेहरूको सूची भने सरकारसँग हुँदैन ।आजको कान्तिपुर दैनिकमा खबर छ ।