प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपतिबीच भारतको गोवामा भेटवार्ता गर्ने तय

असोज २०,काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा जाँदै छन् । त्यही दिन चिनिया राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि दाहालको चिनिया राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।
‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ’,परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार सञ्चारकर्मीसँग भने,‘दुईपक्षीय हितको विषयमा छलफल हुनेछ।’आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।
चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणका बारेमा कुटनीतिक च्यानलमा छलफल चलिरहेको छ । ब्रिक्स र बिमस्टेकको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहालसहितको टोली गोवा जानेछ । त्यहाँ अन्य मुलुकका उच्चस्तरीय नेतृत्वसँग पनि भेटवार्ताका लागि पहल भइरहेको परराष्ट्र श्रोतले बताएको छ ।