बाँदर धपाउन सर्वोच्चमा गुहार !

असोज १२ , काठमाडौं – बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‍याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ

किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ।
बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले रिट लिएर सर्वोच्च आएका हुन्।
बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै कास्की प्रशासन, क्षेत्रीय प्रशासन, जिल्ला बन, जिल्ला कृषि विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बन तथा भु संरक्षण मन्त्रालय र कृषि विकास मन्त्रालयलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गरेका हुन्।