तीन वर्षमा २२ हजार गरिबले लगे राज्यबाट उपचार खर्च

असोज १०, काठमाडौं – सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार कोषबाट तीन वर्षमा २२ हजार तीन सय ४१ जनाले उपचार गराएका छन् ।

आर्थिक वर्ष ०७०/७१ मा आठ हजार दुई सय १३, ०७१/७२ मा ६ हजार ९५ र ०७२/७३ मा आठ हजार ३३ जनाले सरकारी उपचार खर्च पाएका हुन् ।

सबैभन्दा धेरै उपचार खर्च लानेमा क्यान्सर रोगी सरकारले छुट्याएका आठ प्रकारको गम्भीर रोगमध्ये सबैभन्दा बढी क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कोषबाट उपचार गराएका छन् ।

कोषअन्तर्गतको व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा नौ हजार तीन सय ७० जनाले क्यान्सरको उपचार गरेका छन् ।

०७०/७१ मा चार हजार ४९ जनाले उपचार खर्च लगेकोमा ०७१/७२ मा २७ सय ४४ जना र गत वर्ष २५ सय ७७ जनाले उपचार खर्च लगेका छन् ।

अन्य रोगको उपचार खर्च लैजानेमा घटबढ भए पनि क्यान्सरको उपचारका लागि पैसा लैजानेको संख्या क्रमशः घट्दै गएको सचिवालयका स्वास्थ्य कार्र्यकर्ता प्रकाश घिमिरे बताउँछन् । सरकारले क्यान्सर रोगको उपचार गराउन एक व्यक्तिलाई एकपटकका लागि एक लाख दिँदै आएको छ ।

विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च लैजानेमा दोस्रो नम्बरमा मिर्गौलाका बिरामी रहेका छन् । तीन वर्ष अवधिमा ६ हजार दुई सय ६६ जना मिर्गौला रोगीले सरकारबाट पाउँदै आएको उपचार खर्च लगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।