‘ध्वनि र सङ्केत बुझ्न नसक्नेलाई पनि चालक अनुमतिपत्र’

असोज १०, काठमाडौं – सडकमा ध्वनि सुन्न नसक्ने र सङ्केत बुझ्न नसक्ने व्यक्तिहरूले पनि अबदेखि सवारीचालक अनुमतिपत्र पाउने भएका छन् ।  व्यवस्थापिका संसद्ले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन विधेयक पारित गर्दै तोकिएको सडकमा सवारी चलाउन पाउने गरी इजाजत पत्र पाउने व्यवस्था गरेको हो ।

सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पेस गर्नुभएको विधेयक आइतबारको बैठकले पारित गरेको हो ।  पारित विधेयक प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।  अब चालक क्षमता परीक्षण गराई तोकिएको मापदण्ड पूरा गरेका सडकमा सवारी चलाउन सक्ने गरी अनुमतिपत्र जारी हुनेछ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐनको दफा ४७ (ङ)ले साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने व्यक्तिलाई सवारीचालक इजाजत पाउन अयोग्य मानेको थियो ।  तर, सर्वोच्च अदालतको २०६८ चैत २९ गते जारी गरेको निर्देशनात्मक आदेश अनुसार ऐन संशोधन भएको हो ।  संशोधनपछि ऐनको दफा ४७ (ङ)मा प्रतिबन्धात्मक वाक्यांश थप भएको छ ।

यस्तै आइतबारको संसद् बैठकले श्रम विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।  सामाजिक सुरक्षा विधेयकलाई पनि संसद्को पूर्ण बैठकले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।  यस्तै भूमिगत जलस्रोत विधेयक र सिँचाइ विधेयकलाई पनि संसद्ले दफावार छलफलका लागि समितिमा पठाएको छ ।

बैठकले कृषिमन्त्री गौरीशङ्कर चौधरीको प्रस्तावमा दुईवटा सम्झौता अनुमोदन गरेको छ ।  क्षेत्रीय गुणस्तर कायम गर्ने सार्क सम्झौता र समरूपता परीक्षणको मान्यताका लागि बहुपक्षीय व्यवस्थासम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।  दुवै सम्झौता सार्कस्तरीय हुन् ।  यस्तै शिक्षामन्त्री धनीराम पौडेलको प्रस्तावमा चिकित्सा शिक्षा विधेयकलाई पनि संसद्ले संशोधनका लागि अनुमोदन गरेको छ ।