ठूल्ठूला घर, न लालपुर्जा, न प्रमाणपत्र !

असोज ७, काठमाडौँ – पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार। करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन्। तर, अहिलेसम्म भालवाङवासीसँग भू-स्वामित्व नभएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रुपमा परिचय बनाइसकेको भालुवाङ बजारेको मुख्य सहर नै लालपुर्जाविहीन छ।
त्यहाँ ठूलाठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स्थायी प्रमाणपत्र छैन, न जग्गाको न घरको । यो जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ। यो बजारमा दैनिक करौडौको कारोबार गर्ने राष्ट्रियस्तरका निजी बैंकहरु समेत छन् ।
२०२५ सालतिर पूर्वपश्चिम राजमार्गको सुरूवाती दिनमा यहाँ सामान्य चिया बेच्ने व्यपारी पसल थिए। जब राजमार्ग व्यस्त हुन थाल्यो अनि यो बजार पनि चर्कदै जान थाल्यो ।
अहिले पूर्व क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रुपमा यो बजार स्थापित भइसकेको छ।