पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने

असोज ३, काठमाडौं – रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ।

नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए।

सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ। सडक विस्तार योजना अगाडि नबढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ। ‘वीरगन्जदेखि अमलेखगन्जसम्म मुख्य सडकको किनारै किनारमा पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउँछौ,’ उनले भने,‘ पाइपलाइनका लागि छुट्टै जग्गा भने चाहिँदैन। सडक विस्तारको जग्गा प्रयोग हुन्छ’

वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ ।

सडक विभागलाई रूख काट्न र घरहरू छिटो भत्काउन निर्देशन दिइसकेको छ। यस्तै विद्युत प्राधिकरणलाई  विजुलीका पोल र तार हटाउन आग्रह गरिसकेको निगमले जनाएको छ।

रक्सौल अमलेखगञ्जमा पाइपलाइन निर्माणका २ अर्ब ७५ करोड भारतीय रुपैया छ। जसमध्ये भारतीय आयल कर्पोरेसनको २ अर्ब भारू र निगमको ७५ करोड भारू लगानी गर्ने सहमति भएको छ।