संविधान दिवसका सबै कार्यक्रममा विशिष्ट पदाधिकारी उपस्थित

असोज २, काठमाडौँ – सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ। तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन्। उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन्।

संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन्।  उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन्।

सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन्।

राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी हुनेछन्।

संविधान दिवसका अवसरमा संसद् सचिवालयले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संसद् सचिवालयले संविधान दिवसलाई विशेष दिवसका रूपमा मनाउन लागेको हो।

संविधान घोषणा भएको दिनको अघिल्लो दिन संसद् सचिवालयले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा करिब २५ सय मानिसलाई निमन्त्रणा गरिएको छ। सो कार्यक्रममा सभामुख ओनसरी घर्तीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम छ। कार्यक्रममा सहभागीलाई दिउँसो ३ बजेभित्र संसद् भवन बानेश्वरमा उपस्थित भइसक्न सचिवालयले आग्रह गरेको छ।

सभामुखले संक्षिप्त सम्बोधन गरेपछि चियापान कार्यक्रमको आयोजना गर्ने गरी कार्यक्रमको तयारी सचिवालयले गरेको छ। सभामखु र संसद्का महासचिव सो कार्यक्रमपछि साताव्यापी चीन भ्रमणमा जान लागेकाले संविधान घोषणा भएको अघिल्लो दिन नै सचिवालयले कार्यक्रम राखेको स्रोतले बतायो।