आज दिनभरी वर्षा हुने, केही दिन यस्तै रहने

भदौ २७, काठमाडौँ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिनभर पानी पर्ने भएको छ ।

हिजो साँझदेखि नै परिरहेको पानी निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा बढी वर्षा हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताउनुभयो ।
मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले यहाँ पानी परेको हो ।
यो वर्षा अझै केही दिन रहने पनि उहाँले जानकारी दिनुभयो । तराइका क्षेत्रमा दिउँसो केही मौसम खुले पनि पुरै घाम लाग्ने संभावना भने नरहेको उहाँको भनाइ छ । देशका एकदुई ठाउँमा भारी वर्षा पनि हुन सक्ने जनाइएको छ ।