बेगखोलामा बाढीले ११ घर बगायो

भदौ १७ , म्याग्दी – गएराती परेको बर्षाको कारण आएको बाढीले म्याग्दीको बेग गाविस –६ मा ११ वटा घर बगाएको छ ।

बेनी–जोमसोम सडक खण्ड नजीकै रहेको बेगखोला बस्तीमा खहरे खोलामा आएको बाढीले ११ वटा घर बगाएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाईएको बेलि ब्रिज र झोलुङ्गे पुल समेत बगाएको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो ।
राती एक्कासी आएको बाढीले बस्ती नै बगाएपनि स्थानीयले भागदौड गरि ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीय प्रसाद सिन्जाली सम्पर्क विहिन बनेका छन् । बस्तीमा बाढी पसेर पुरै बगरमा परिणत भएको छ ।
बाढीबाट जोखिममा रहेका अन्य चार घरलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भईरहेको प्रहरी निरिक्षक गुरुले बताउनुभयो । अहिले स्थानीय र प्रहरीले घटनास्थलमा वेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।
यसैविच नेपाल रेडक्रस सोसाईटीका सभापती लेखबहादुर हमालको नेतृत्वमा एक टोलि बाढी प्रभावितहरुको राहतको लागि राहत सामाग्री लिएर त्यसतर्फ लागिसकेको छ । बाढीको विस्तृत क्षतीको विवरण संकलन भईरहेको छ ।