बालकलाई बली दिई हत्या गर्नेलाई जन्मकैद

भदौ १५,  परासी – बालकलाई बली दिई हत्या गरेको अभियोगमा नवलपरासी अदालतले एकजनालाई सर्वस्व र ९ जनालाई जन्मकैदको सजाय दिएको छ । घटनाका अभियुक्त एक नाबालकलाई अदालतले ६ महिनाको सजाय गरेको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको इजलासले सोमबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाउनेमा तीन परिवारका नौजना छन् । बालकलाई बली दिने मुख्य तान्त्रिकलाई पनि जन्मकैदको सजाय गरिएको छ ।
गत वर्ष साउन ५ गते नवलपरासी कुडिया गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको छिमेकी कोदई हरिजनले अन्य दुई झाँक्रीसँग मिलेर हत्या गरेका थिए ।
झाँक्री कोदईले आफ्ना छोरा विजयलाई तान्त्रिक विद्या सिकाउने नाउँमा सोनुलाई ‘बली’ चढाएका थिए । घटनामा मतियार भएको भन्दै मुख्य अभियुक्तको परिवारका सदस्यमाथि पनि मुद्दा चलाइएको थियो ।
अदालतको फैसलाअनुसार घटनाका मुख्य अभियुक्त कोदुई हरिजनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको हो । जन्मकैदको सजाय पाउनेमा कोदाईकी श्रीमती कान्ति र उनका छोरा विजय पनि छन् ।
त्यस्तै अर्का झाँक्री रुद्धल हरिजनसहित उनकी श्रीमती बुनिया, दुई छोरा रामानन्द र दीनानाथले पनि जन्मकैदको सजाय पाएका छन् । जन्मकैदको सजाय पाउने अन्यमा घटनाका मतियार सूर्यमान हरिजन र उनकी श्रीमती सुनिता छन् ।
मुख्य तान्त्रिक छिमेकी गंगा हरिजनलाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ । छिमेकी नाबालक लक्ष्मीलाई भने छ महिना कैद सुनाइएको हो ।
बालकको बलि नदिए छोरालाई सन्चो नहुने भन्दै कोदाईले अन्य तीनजनालाई ५० हजार रुपैयाँ दिएर सोनुको घाँटी रेटी हत्या गरेका थिए ।