माओवादी केन्द्रका भ्रातृ संस्था सबै भद्रगोल

भदौ,१२, काठमाडौ – माओवादी घटकबीच एकतापछि बनेको माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति जति भद्रगोल छ, त्योभन्दा बढी भद्रगोल भ्रातृ संगठनमा छ ।

पार्टीको महाधिवेशन आयोजक समिति दुई हजार चार सय ८३ सदस्यीय छ । एकता भेला गरेका भ्रातृ संगठन तथा जातीय–क्षेत्रीय मोर्चामा पनि त्यस्तै ठूला समिति छन् । केही संगठनको भने एकता भेला नै हुन सकेको छैन ।
माओवादी केन्द्रका विद्यार्थी, मजदुर, महिलालगायत २५ जनवर्गीय संगठन छन् । त्यस्तै, योङ कम्युनिस्ट लिगलगायतका आठवटा सहायक संगठन, नेवा, तामाङ, किरातजस्ता ३४ वटा जातीय–क्षेत्रीय मोर्चा छन् । यी संगठनहरूलाई माओवादीले आफ्नो संगठन विस्तारको ‘मेरुदण्ड’का रूपमा लिँदै आएको छ । तर, प्रायः सबै भद्रगोल छन् ।
माओवादी केन्द्रले साउन मसान्तसम्म पार्टीका जनवर्गीय संगठन तथा जातीय–क्षेत्रीय मोर्चाहरूको एकता भेला गर्ने निर्णय गरेको थियो । तर, अझै अधिकांश मोर्चाहरूको एकता भेला हुन सकेको छैन । भेला हुन बाँकीको भदौ मसान्तसम्म गरिसक्न माओवादी केन्द्रले निर्देशन दिएको छ । कतै एकतापछि बन्ने कमिटीको नेतृत्व विवाद त कतै संगठनको क्रियाशीलताकै कारण पनि एकता भेला अन्योलमा छ ।
‘केही संगठनको भेला भइरहेका छन्, केही को हुन बाँकी छ,’ माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘आधाभन्दा बढीको बाँकी नै छ, भदौ मसान्तसम्म हुन्छ होला ।’
वाइसिएल, जनसांस्कृतिक महासंघ, खेलकुद महासंघलगायतको एकता भेला हुन सकेको छैन । एकता भेला हुनै लागेका समितिमा पनि जम्बो केन्द्रीय समिति बनाउने तयारी छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन, अखिल नेपाल क्रन्तिकारी अपांग संघ, गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघलगायतका संगठनको पनि एकता भेला टुंगो लागेको छैन । अाजकाे नयाँ पत्रिकामा समाचार छ ।