त्रिशूली नदीमा बस खस्दा २० जनाको मृत्यु

भदौ १० , काठमाडौँ – गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो।
घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार २० जनाको शव बाहिर निकालिएको छ। १२-१३ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ।
मुग्लीन प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन। स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।
बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।