संविधान संसोधनबारे जानकारी छैन – केपी ओली

भदौ ९ , काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा आफ्नो पार्टीलाई जानकारी नभएको बताएका छन । दुई साता लामो विदेश भ्रमणमा जानुअघि आज त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै ओलीले संविधान संशोधनका बिषयमा आफूहरुलाई अहिलेसम्म कसैले जानकारी नगराएको भन्दै संविधान संशोधनमा सरकारले भन्दा विदेशीले चासो दिएको भन्ने समाचार आफूले पढेको बताए । ओलीले संविधान संशोधन हुन सक्ने विषय भए पनि यसलाई सधै चलाइरहनु उचित नहुने उल्लेख गरे । उनले भने , संविधान संशोधन हुन सक्छ भनेर सधैँभरी यसलाई संशोधन गररिाख्नु हुँदैन । खास कारण र तर्क चाहिन्छ, ती दुबै कुरा अहिले देखिदैन।’

आज दिउँसो थाइल्याण्ड प्रस्थान गरेका अध्यक्ष ओलीले बैककमा स्वास्थ्य परिक्षण गराउने र बाँकी समय घुमफिर गरी छुट्टीका रुपमा विताउने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, एमाले पोलिटब्युरो सदस्य बिष्णु रिमाल थाइल्याण्ड जानुभएको छ । ओलीको भ्रमण अवधिभरका लागि एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिइएको छ ।