चीनसँग जोडीएको कोरला नाका सञ्चालनमा आउने

भदौ ७ , काठमाडौँ – चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ ।

उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन गर्ने परम्पराअनुसार मेला सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

वर्षमा दुईपटक आलोपालो गरी चीन र नेपालको भूमिमा व्यापार मेला सञ्चालन गर्ने सहमति भए तापनि यसवर्ष दुई पटक नै चीनको भूमिमा मेला सञ्चालन भएको छ । यस वर्षको गत असार महिनाको १ गतेदेखि २५ गतेसम्मका लागि सञ्चालन भएको व्यापार मेला चीनले सुरक्षा चुनौती देखाउँदै पूर्वनिर्धारित समयभन्दा १० दिनअघि नै बन्द गरेको थियो । अहिले कोरला नाकादेखि करिब १० किलोमिटरभित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला सञ्चालन भइरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मी आङग्याल विष्टले जानकारी दिए ।

हिउँद याममा हिउँकै कारण स्थानीयवासीलाई हिँडडुलमा समस्या हुने हुँदा अहिले नै नाका खोली व्यापार मेला सञ्चालन गरिएको विष्टको भनाइ छ । वर्षको दुईपटक हुने व्यापार मेलामा दुई देशका व्यापारीले आफूलाई चाहिने एक वर्षका लागि मालसामान खरिदबिक्री गरेर राख्ने गरेका छन् । बर्सेर्नि असार र भदौमा दुई देशबीच व्यापार मेला हुँदै आएको छ ।