रूट परमिट नै थिएन,चालकको लाइसेन्स नक्कली

भदौ १, काठमाडौँ – काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ।

यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं-जिरी चल्न रूट परमिट पाएको थियो। ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकारीले भने,‘ उक्त बसलाई काठमाडौं- जिरी चलाउन परमिट दिइएको थियो।’ धेरै पहाडी जिल्लामा रूट परमिट बिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको उनले बताए।
बस चालकको लाइसेन्स पनि नक्कली भएको खुलेको छ। भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खबर आजको राजधानीमा छापिएको छ।