संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ – डा. भट्टराई

साउन ३१, तनहुँ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राखे ।
प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले भने – “संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ ।”
तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ, डा. भट्टराईले भने – “कम्तीमा पनि ५ वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।”
म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्छ उनले भने ।
संविधान बनेपछि सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने उनको धारणा थियो ।
सञ्चारकर्मीको १ जिज्ञासमा उनले भने – “नयाँ शक्ति नेपाल सङ्गठन विस्तारकै क्रममा रहेको र आगामी ३ महिनाभित्र अहिले रहेको सदस्य सङ्ख्याको दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य राखेको छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई सुनिश्चित गरेर संरक्षित र विशेष क्षेत्रहरुलाई पुरानो शैलीबाट हटाएर लैजानुपर्छ उनले भने – “विकास निर्माण र आर्थिक क्रान्ति गर्नु नै नयाँ शक्तिको मुख्य एजेन्डा हो ।”
डा. भट्टराई ४ नं प्रदेशको अन्तर संवाद कार्यक्रमका लागि तनहुँ आउनुभएको बताइएको छ । प्रेस सोसाइटी तनहुँ शाखाका संयोजक उज्ज्वल पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।