२४ घण्टाभित्र मन्त्रालयमा ‘नक्कली डाक्टर’लाई हाजिर हुन निर्देशन

साउन ३०, काठमाडौँ – स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेकाहरुलाई कामबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको छ । यसैगरी करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्ध गर्ने निर्णय पनि भएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरी नक्कली भनिएका डाक्टरहरुलाई बिरामी जाँच्न नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशनदिएका थिए । त्यसलगत्तै मन्त्रालयमा सचिवस्तरीय बैठक बसेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशनपछि ति डाक्टरलाई २४ घन्टाभित्र मन्त्रालयमा बोलाउने, करार र अस्थायी सरकारी डाक्टरहरुको करार सम्झौता भंग गर्ने निर्णय भएको छ ।’
मन्त्रालयका अनुसार २४ घण्टाभित्र हाजिर हुन भनिएका सरकारी स्थायी डाक्टरहरु ३ जना छन् । यसैगरी करार सम्झौतामा कार्यरत सरकारी डाक्टरहरु ५ जना छन् ।
अन्य निजी अस्पतालमा कार्यरत डाक्टरहरुको हकमा भने लाइसेन्स निलम्बन गर्न नेपाल मेडिकल काउन्सीलमा पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
काउन्सीलका रजिष्ट्रार दिलिप शर्माले काउन्सीलको लाइसेन्स निलम्बनको निर्णय पूर्ण बैठकबाट लिनुपर्ने भएकाले बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।
अदालतमा मुद्दा चलेपछि नक्कली भनिएका डाक्टरहरुलाई निलम्बन गर्नुपर्ने भए पनि तत्कालीन स्वास्थ्य मन्त्री रामजनम चौधरीले काउन्सिलको पूर्ण बैठक बस्न दिएका थिएनन् ।
प्रहरीले चलाएको अपरेशन क्वाकबाट हालै ३७ जना चिकित्सकहरु नक्कली प्रमाणपत्रका आधारमा डाक्टर पेशामा संलग्न भएको तथ्य फेला परेको थियो । नेपाल मेडिकल काउन्सीलले बर्खास्त नगर्दा उनीहरु अदालतमा मुद्दा चलिरहे पनि पुनः काममा फर्किएका थिए ।