राजधानीमा रातको तुलनामा दिउँसो ९० प्रतिशत चोरी

साउन २९, काठमाडौँ – काठमाडौँ उपत्यकामा आर्थिक वर्ष ०७१÷०७२ को तुलनामा आव ०७२÷०७३ मा चोरीका घटना कम भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव ७१÷०७२ मा २२५ चोरी भएकोमा २०७२÷०७३ मा १३८ चोरीका घटना भएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतले भन्नुभयो, “प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यस वर्ष चोरीका घटनामा कमी आएको छ ।”
बस्नेतका अनुसार सोही अवधिमा डाँका तथा जबरजस्ती लुटपाटको घटना पनि कमी आएको बताउनुभयो । महाशाखाका अनुसार आव ०७१÷०७२ मा डाँका पाँच तथा जबर्जस्ती लुटपाटमा ६३ घटना घटेकोमा आव ०७२÷०७३ मा डाँका तीन र जबर्जस्ती लुटपाट ४२ घटना भएका छन् ।
उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा दिउँसोमा बढी चोरी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेलुकाको तुलनामा दिँउसो ९० प्रतिशत चोरी हुने गरेको छ ।”
बस्नेतले रातिको समय अफिसमा धेरै चोरी र दिउँसोको समयमा घरमा बढी चोरी हुने गरेको बताउनुभयो । उहाँले उपत्यकाको महाराजगञ्ज, नयाँ बानेश्वर, नयाँ बसपार्क, बालाजुलगायतका क्षेत्रमा बढी चोरी हुने गरेको जानकारी दिनुभयो ।