तरकारीबाट मासिक डेढ लाख आम्दानी

साउन २७, पाल्पा – सहलकोट भाङ्बारीका अगुवा कृषक यमबहादुर मश्राङ्गीले तरकारी खेतीबाट मासिक १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्दैैआएका छन् ।

७ वर्ष अगाडि बेरोजगार रहेका मश्राङ्गी अहिले जिल्लामै नमुना तरकारी उत्पादक कृषकका रुपमा परिचित छन् । स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने कृषि कार्यक्रमबाट प्रभावित भई उनले विगत ७ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।
तरकारी खेतीमा समर्पित उनले आफ्नै करिब १० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक मनग्य आम्दानी गर्दैआएका छन् । मेहनत र परिश्रमले नै पर्याप्त आम्दानी गर्न सकेको उनि बताउछन् । गत असारमा मात्रै गोलभेँडा, सिमी, खुर्सानी र बोडी बेचेर मश्राङ्गीले १ लाख ५० हजार आम्दानी गरेका छन् ।
रेडियोबाट बज्ने कृषि कार्यक्रमबाट प्रभावित भएर तरकारी खेतीमा लाग्नुभएका मश्राङ्गीले ४ छोराछोरीलाई शिक्षा दिएका छन् । “छोराछोरीलाई पढाउन सक्ने अवस्था थिएन, अहिले तरकारी बेचेर बोर्डिङ र क्याम्पसमा भर्ना गरिदिएको छु,” उनले भने ।
तरकारीको कमाइ बचत गरी उनले बैंकमा समेत जमा गर्दैआएका छन् । मश्राङ्गीले रामपुरको बेझाड बजारको तरकारी सङ्कलन केन्द्रमा दैनिक ४ क्विन्टलसम्म तरकारी बिक्री गर्न ल्याउने गरेको तरकारी व्यापारी ओमप्रकाश रेग्मी बताए । अगुवा कृषक मश्राङ्गीले गाउँमा उत्पादित अन्य कृषकको पनि तरकारी खरिद गरी बजारसम्म पुर्याउने गर्छन् ।
रामपुरदेखि सहलकोट जोड्ने सडकको स्तरोन्नति गर्न सकेको खण्डमा भाङबारी क्षेत्रलाई तरकारी उत्पादनको नमुना क्षेत्रका रुपमा चिनाउन सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला बताउछन् । कार्यालयले युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत ४० हजार रकम अनुदानमा उपलब्ध गराएको उनको भनाइ छ ।
बाटोकै समस्याका कारण यहाँका कृषकले भनेको समयमा गाउँमा उत्पादित तरकारी बजारमा पुर्याउन सकिरहेका छैनन् । बाटो सहज भएको अवस्थामा दिनहुँ करिब १० क्विन्टलसम्म तरकारी रामपुरको बेझाड बजारमा भित्रने यहाँका व्यापारी बताउँछन् ।