साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्त ल्याउन प्रधानमन्त्रीको निर्देशन

 

साउन २४, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज परराष्ट्र सचिव शङ्करदास बैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले निर्देशनमा भन्नुभयो, ‘‘साउदी अरबमा सयौँ नेपाली र श्रीलङ्कामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ । यथार्थ बुझेर तुरुन्तै उनीहरुलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’’

प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशीघ्र उनीहरुलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिनुभएको हो ।

साउदी अरब र श्रीलङ्कामा दर्जनाँै नेपाली अलपत्र परेको, उनीहरु भोकभोकै रहनु परेको र सामान्य मानवीय सेवासमेत प्राप्त नभएको भन्ने गुनासो आएपछि प्रधानमन्त्रीले उनीहरुलाई फर्काउन चासो लिनुभएको हो ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले विश्वका कुनै पनि मुलुकमा नेपाली नागरिकले दुःख पाउनु कुनै हालतमा पनि क्षम्य नभएकाले तत्काल फिर्ता गराउन वा समस्याको समाधान गर्न निर्देशन दिनुभएको छ ।

जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्वयन गर्ने बताउनुभयो । सचिव बैरागीले प्रधानमन्त्रीको निर्देशनलगत्तै सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास र सम्बद्ध अधिकारीलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।