पुनर्निर्माण सुस्तः विश्वसम्पदाको बेहाल

साउन २४,काठमाडौं –झट्ट हेर्दा हुनुमानढोका दरबार पुनर्निर्माणको काम गर्दा गर्दै रोकिएजस्तो देखिन्छ। तर यो पुनर्निर्माण नभई परकम्पले नढलोस भनेर लगाइएको टेकको हो।

विश्व सम्पदा सूचीमा रहेको यो दरबार भत्काएर जगैदेखि पुनर्निर्माण गर्नुपर्नेछ, जसका लागि एक वर्ष अघि नै समझदारीसमेत भइसकेको छ। पुरातत्व विभाग र चीन सरकारबीच २०७२ साल साउन ४ मा एमओयू भए पनि पुनर्निर्माणको अझै अत्तोपत्तो छैन।

महाभूकम्पले भत्काएका विभिन्न सम्पदा पुनर्निर्माण गर्न भारत, चीन, श्रीलंका, जर्मनी, अमेरिकाले एमओयू गरिसकेका छन्। केही सम्पदा बनाइदिन रुसले पनि इच्छा देखाएको छ। बसन्तपुर दरबार र नुवाकोटको साततले दरबार, त्यसवरपरका सम्पदा चीनले बनाइदिने भनेको थियो।

‘विश्व सम्पदामा सूचीकृत सम्पदाहरुको पुनर्निर्माण तत्काल सुरु नगरे सूचीबाट हटाउने चेतावनी युनेस्कोको ४० औं अधिवेशनले दिएको छ। तर पुनर्निर्माणमा ढिलाइ भइरहेको छ,’वुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउन अनुमति दिएकामध्ये ४९ वटाको टेन्डरको काम भएको जानकारी उनले दिए।