विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा हिमालय एयरलाइन्सलाई कार्यालय खोल्ने सुविधा

साउन २३,काठमाडौं – नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा दिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको ठाडो निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई कुनै प्रक्रिया पूरा नगरी उपलब्ध गराएको छ।
हिमालय एयरलाइन्सका लगानीकर्ता ओलीनिकट भएकै कारण कम्पनीले यो विशेष सुविधा पाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
ओलीले चीन भ्रमणमा जाँदासमेत एओसी नै नलिएको सोही एयरलाइन्स प्रयोग गरेका थिए । हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ।
हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ ।
एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ ।
निवर्तमान प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलको दबाबमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राधिकरण सञ्चालक समितिमा ठाडो प्रस्तावका लागि निर्णय गराएर हिमालयलाई कार्यालय खोल्न अनुमति दिइएको पाइएको छ ।
प्राधिकरण सञ्चालक समितिमा पर्यटनमन्त्री अध्यक्ष हुने व्यवस्था छ भने सदस्य–सचिवमा प्राधिकरणका महानिर्देशक रहने व्यवस्था छ ।
‘कुनै प्रक्रिया पूरा नगरी सिधै हिमायललाई दिइएको देखेर हामी पनि आश्चर्यमा परेका छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले भने । प्राधिकरण स्रोतका अनुसार हिमालयलाई १० वर्षका लागि उक्त भाडामा जग्गा उपलब्ध गराइएको छ भने भाडा पनि न्यून मात्रै तोकिएको छ ।