ग्यास सिलिन्डरको एक करोडसम्मको बिमा

साउन २२, काठमाडौं – ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन्। एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।

संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए। ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए।

जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन्।

केमा कति क्षतिपूर्ति ?

मृतकलाई १० लाख

सिलिन्डर विस्फोटबाट मृत्यु भएकाका प्रतिपरिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइनेछ । ‘एकजनाको मृत्यु भए परिवारले १० लाख, पाँच जनासम्मको मृत्यु भएमा ५० लाखसम्म क्षतिपूर्ति दिइनेछ,’ ग्यास उद्योग संघका अध्यक्ष भने। एउटै घटनामा ६ वा सोभन्दा बढीको मृत्यु भएमा ५० लाख रुपैयाँलाई नै दामासाहीले उपलब्ध गराइने उनले बताए।

भौतिक क्षतिपूर्ति ४० लाख

सिलिन्डर विस्फोटबाट भौतिक क्षति भएमा अधिकतम् ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ। एउटा दुर्घटनामा त्यसभन्दा धेरै क्षति नहुने संघको बुझाइ छ।

१० लाख उपचार खर्च

विस्फोटबाट घाइते हुनेलाई १० लाखसम्मको उपचार खर्च दिइनेछ। उपचार गर्दागर्दै घाइतेको मृत्यु भएमा उपचार खर्च नघटाई मृतक परिवारले पाउने प्रतिव्यक्ति १० लाख वा अधिकतम् ५० लाख उपलब्ध गराइने उनले बताए।