पत्रकार दीक्षितको जग्गा र बैंक खाताबारेको कारबाही अघि नबढाउन आदेश

साउन २०, काठमाडौं – सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षित परिवारका नाममा रहेको जग्गा र विदेशी बैंकमा रहेको खाताबारे गरिरहेको कारबाही नबढाउन जिल्ला भूमिसुधार कार्यालय ललितपुर र राजश्व अनुसन्धान विभाग लगायतका सरकारी निकायका नाममा अन्तरकालिन आदेश जारी गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अदालतमा मुद्दाको सुनुवाई चलिरहेकाले कुनै प्रकारको कारबाही पक्रिया अघि नबढाउन आदेश जारी गरेको हो । अदालतमा मुद्दा चलिरहेको बेला अदालतको आदेश मिच्दै भूमिसुधार तथा व्यवस्था कार्यालय ललितपुरले दीक्षितको १८ रोपनी जग्गा जफत गरेको छ ।
पाटनमा रहेको दीक्षितको घरको कम्पाउन्डको १८ रोपनी जग्गा हदबन्दी भन्दा बढी पाइएकाले जफत गरिएको भूमिसुधार तथा व्यवस्था कार्यालय ललितपुरले जनाएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगको निर्देशन र निर्णयमा हदबन्दीभन्दा बढी जग्गा राखेको साथै विदेशी बैंकमा खाता रहेको भन्दै बिना कानूनी आधार कारबाही अघि बढाएको भन्दै दीक्षितले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
दीक्षितले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको मनोनयन र त्यसपछिको क्रियाकलापको विरोध गर्दै आएकाले आफूविरुद्ध कार्की लागिपरेको उल्लेख गर्नुभएको छ ।