नयाँ प्रधानमन्त्रीको चुनाव आज, प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित

साउन १९, काठमाडौँ – नयाँ प्रधानमन्त्रीका लागि ब्यवस्थापिका संसदमा आज मतदान हुँदैछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवारका रुपमा देखिनु भएको छ । उहाँ आज मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा चुनिनुहुने लगभग निश्चित छ ।
हिजो बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा प्रचण्डको मात्रै उम्मेदवारी परेको थियो । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा नहुने व्यवस्था छ ।
सबै दलहरुले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन् । संसदमा तत्काल बहाल रहेको कुल सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुनेछ । संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गर्ने निर्णय गरे पनि दाहालको पक्षमा सहज बहुमत देखिएको छ ।
प्रचण्डले प्रधानमन्त्री हुन अहिले कायम रहेको ५ सय ९५ मतको बहुमत हुन २ सय ९८ सदस्यको समर्थन प्राप्त गर्नुपर्नेछ । कांग्रेस र मधेसी मोर्चाको समर्थनसहित उहाँको पक्षमा ३ सय ६० भन्दा बढी मत देखिसकेको छ ।
व्यवस्थापिका–संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गरेपछि मतदानको प्रक्रिया सुरु हुनेछ । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।