अनशन बसेका विद्यार्थी बेहोस

साउन १८, काठमाडौं – नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रुपमा हुनु पर्ने र विभिन्न जिल्ला तथा क्याम्पसमा भएका फर्जी प्रतिनिधिहरुला मतदाता सूचीबाट हटाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आमरण अनशन बसेका विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेल बेहोस भएका छन्।

गत शनिवारेदेखि आमरण अनशन बसेका उनीहरु बेहोस भएपछि सोमबार चिकित्सक लगेर उपचार गरिएको संघका नेता बलदेव तिमल्सिनाले बताए। यसैबी नेविसंघको महाधिवेशन गराउन पार्टीद्वारा गठित निर्देशक समितिका संयोजक प्रकाशशरण महत र सदस्य प्रदिप पौडेलले अनशनस्थल पुगेर दुवैलाई अनशन स्थगित गर्न आग्रह गरेका छन्।

नेताहरुले जिल्ला र क्याम्पसमा विधिवत् अधिवेशन नभई त्यत्तिकै गठन गरिएका समिति र फर्जी प्रतिनिधि खारेज हुनु पर्ने माग सम्बोधन गर्न नसकिने बरु अन्य मागमा चाहिँ लचक हुन सक्ने बताएका थिए।

अनशनकारीहरुले भने आफ्ना माग पूरा नभए अनशन नरोकिने बताएका थिए। संघका पूर्वअध्यक्ष एनपी साउद र पूर्वमहामन्त्री चन्द्र भण्डारीले पनि अनशनस्थल पुगेर विद्यार्थीको अवस्थाबारे जानकारी लिएका छन्।