उपत्यकामा ट्राफिक जामको मूख्य कारण वर्षा र नाराजुलुस !

साउन १७, काठमाडौँ – वर्षा र सडकमा नाराजुलुसका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकमा ट्राफिक जाम हुने गरेको छ। काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेतले बताए।

‘काठमाडौँ उपत्यकामा आठ लाख ५० हजारभन्दा बढी सवारीसाधन रहेको र एक हजार ५०० किलोमिटर सडक भएकाले धेरै जाम पर्ने गरेको हो।

काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, कालीमाटी, भोटेबहाल, थापाथली, माइतीघर, कलङ्की, जमल, केशरमहल, खानीविभाग, स्रोहखुट्टे, बालाजु, चाबहिल, ग्वार्को, कोटेश्वर, जडीबुटीलगायतका चोकमा धेरै ट्राफिक जाम हुने गरेको बस्नेतले बताए। उनले यी चोकमा एउटा सवारीसाधनले कम्तीमा पाँचदेखि सात मिनेट रोकिनुपर्ने बताए। ‘अफिस समयमा अझ बढी जाम हुने गरेको छ,’बस्नेतले भने।

सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा धेरै जाम हुने गरेको महाशाखाले जनाएको छ। यस्तै सवारीसाधन धेरै, काम परेर रोक्नुप¥यो भने पार्किङको समस्याले सडकमै पार्किङ गर्दा अझै जाम हुने गरेको छ।

यस्तै वर्षाका समयमा उपत्यकाका अधिकांश सडकमा पानी जम्ने हुनाले अझ धेरै जाम हुने गरेको छ। तिनकुने, त्रिपुरेश्वर, जमल, केशरमहललगायतका चोकमा पानी निकास गर्ने स्थान नहुँदा सानो पानी पर्दा समेत पोखरी हुने गरेको छ। यस्तै नयाँबानेश्वर चोकमा आकासे पुल नहुँदा मानिसले सडकबाटै बाटो काट्दासमेत जाम हुने गरेको महाशाखाले जनाएको छ।

यसरी उपत्यकामा दिनानुदिन जाम बढ्दै गए पनि यसलाई न्यूनीकरण कसरी गर्ने भन्नेमा ट्राफिक प्रहरी अन्योलमा छ। महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले सडक जाम कम गर्न पूर्वाधार निर्माणका लागि सडक विभाग र नगरपालिकासँग छलफल चलाइरहेको बताए।

उपत्यकामा ट्राफिक जनशक्ति कम र विशिष्ट व्यक्तिको आवागमन हुँदा सवारी जाममा थप समस्या पर्ने गरेको छ। उपत्यकामा दुई हजारभन्दा बढी ट्राफिक जनशक्ति हुनुपर्नेमा हाल एक हजार २०० जनशक्ति रहेको छ। यस्तै नारा जुलुस निस्कँदा त सवारीसाधन झन अस्तव्यस्त हुने गरेको छ।