कर्णेल लामाको मुद्दाको टुंगो लगाउन अन्तिम छलफल

साउन १२,काठमाडौं–कर्णेल कुमार लामा विरुद्धको मुद्दा अन्तिम छिनोफानो लगाउन १२ सदस्यीय जुरीले छलफल जारी राखेको छ।

लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि मंगलबार अन्तिम टुंगो लगाउन छलफल भइरहेको हो।

जस्टीस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट वहस सकिएपछि जुरी अन्तिम निष्कर्ष नजिक पुगेको छ। ‘अब छिट्टै समर छुट्टी हुने भएकाले एक दुई दिनभित्रै फैसला आउने आशा छ’, श्रोतले भन्यो।

श्रोतका अनुसार १२ सदस्यीय जुरीबीच सर्वसम्मत भएमात्र अन्तिम फैसला हुने नत्र पुनस् सुनुवाइमा जानुपर्ने कानुनी प्रावधान छ।

लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ ९१० अन्तर्गत मुद्दा छ। दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउँदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत पक्राउ गरेको थियो।

प्रहरीले लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग लगाएको थियो।लामाको मुद्दा गत वर्ष भने अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो।

लामाको मुद्दामा नेपाल सरकारले पनि प्रत्यक्ष चासो राख्दै आएको छ।