म्याद नाघेका व्यापारिक फर्मः नवीकरण हुँदैन, खारेज गर्न पनि मिल्दैन

साउन १०,काठमाडौं – नवीकरणको म्याद नाघेका व्यापारिक फर्मले खारेजीको सुविधा नपाउँदा समस्या उत्पन्न भएको छ।

यस्ता फर्मले कानुनबमोमि निरन्तर कर तिरिरहे पनि प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली २०३४ बमोजिम नवीकरण गर्न भने पाएका छैनन्। म्याद सकिएको एक वर्ष अवधि नाघिसकेकाले व्यापारिक फर्मले नवीकरण गर्न नपाएका हुन्।

नियमावलीबमोजिम नवीकरणको अवधि सकिएको एक वर्षसम्ममात्र जरिवाना, ३ महिनासम्म दोब्बर दस्तुर र एक वर्षसम्म तेब्बर दस्तुर तिरेर फर्म नवीकरण गर्न पाइने प्रावधान छ। तर, एक वर्षपछि नवीकरण गर्न नपाइने प्रावधान छ।

‘एक वर्षपछि नवीकरण गर्न आउने व्यापारिक फर्मको संख्या हजारौं छ,’आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक पुरुषोत्तम सुवेदीले भने,‘तर नियमावलीले रोकेका कारण व्यपारिक फर्मको नवीकरण गर्न मिल्दैन। कर निरन्तर तिरिरहेकाले खारेज पनि गर्न मिल्दैन।’

हाल दैनिक ३÷४ सयको संख्यामा व्यापारिक फर्म नवीकरण गर्नका लागि आउने गर्छन्।