जथाभावी बाटो काटे प्रहरी फन्दामा !

साउन ९ ,काठमाडौं – ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आजबाट लागू हुने गरी पदैलयात्रीलाई केन्द्रित गरी नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका केन्द्रित गरि पदैलयात्रीको सुरक्षाका लागि जेब्राक्रसबाट बाटो काट्ने र जेब्राक्रसलाई नटेर्ने चालकमाथि साताव्यापी कार्यक्रम गर्न लागेको हो ।

सडकमा जेब्राक्रस मेटिनु र पैदलयात्रीले बाटो काट्न खोज्दा चालकले गर्ने व्यवहारप्रति गुनासो बढेपछि महाशाखाले साताव्यापी कार्यक्रम गर्न लागेको हो । केही घटनामा पैदलयात्रीले र धेरैमा सवारी चालकले सडक अनुशासन उल्लंघन गरेको विश्लेषण महाशाखाको छ ।

महाशाखाका अनुसार उपत्यकामा ठूलासाना गरी दैनिक ३६ वटा सवारी दुर्घटना हुँदै आएका छन् । पदैलयात्रीको लापरबाहीबाट औसतमा १५ दिनमा ११ वटा दुर्घटना हुने गरेका छन् ।

जेब्राक्रसिङबाट बाटो काट्दा चालकले किचौँलाझैँ गरेको गुनासो बढेपछि निगरानी गरी कारबाही अभियान चलाइएको छ ।