बाटोबाटै काम गर्दै इन्जिनियर

साउन ८,काठमाडौं – भूकम्पपछिको पुनर्निर्माणका लागि खटिएका दुई हजार पाँच सयभन्दा बढी इन्जिनियर बाटोबाटै काम गरिरहेका छन्। सुरक्षित भवन बनाउन खटिएका उनीहरु आफू बस्ने भवन नहुँदा सम्पर्कका भरमा बाटोबाटै स्थानीयका घरमा पुगी काम गर्न बाध्य भएका हुन्।

द्वन्द्वकालदेखि सदरमुकाम बस्ने बानी परेका सचिवका कारण पनि इन्जिनियर बाटोबाटै काम गर्न बाध्य भएका हुन्। सरकारले बैशाख दोस्रो सातादेखि भूकम्प प्रभावित १४ जिल्लामा एक हजार तीन सय ४६ इन्जिनियर , ६ सय ५० सबइन्जिनियर र पाँच सय ७५ सहायक सब इन्जिनियर खटाएको छ।

सहरी विकास मन्त्रालयका पवक्ता शिवहरि शर्माले गाविसचिव गाृँमा नबसेपछि इन्जिनियरहरु भूकम्प प्रभावित जिल्लामा बाटोबाटै काम गर्न बाध्य भएको बताए।

उनले भने,‘द्वन्द्वमा भत्किएका गाविस भवन अझैसम्म नबनाउँदा गाविस सचिव सदरमुकाम बसिरहेका छन्। इन्जिनियर सचिवसँगको समन्वयमा पुनर्निर्माणमा संलग्नु हुनु पर्ने हो। भवन नभएपछि इन्जिनियरले कागजात कहाँ राख्ने ?’

एउटै गाविसमा एक हजारदेखि दुई हजारसम्म घर बन्ने भएपनि ती लाभग्राहीको सूची गाविस सचिवले बोकेर हिँड्दा इन्जिनियरलाई काम गर्न समस्या भएको हो।