प्रहरीमा पहुँचवालालाई मात्रै विशेष तालिम

साउन ५,काठमाडौं– प्रहरी संगठनमा जनशक्तिको ७७ प्रतिशत हिस्सा दर्जा प्रशिक्षणको दायराभन्दा बाहिर रहेको खुलेको छ। प्रशिक्षणको नेतृत्व तहले अपारदर्शी ढंगले पहुँचका आधारमा कोटा वितरण गर्दै आएको यो हिस्सा प्राविधिकबाहेक अन्य तालिमबाट बञ्चित भएको हो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले गरेको एक अध्ययनले प्रशिक्षण वितरणमा धेरै त्रुटि फेला पारेको हो। प्रतिष्ठानले यो आर्थिक वर्षमा करिब ३७ हजार प्रहरी कर्मचारी विभिन्न विधामा प्रशिक्षण दिने योजना बनाएको छ।

प्रशिक्षण विकास कार्ययोजना २०७३ अन्तर्गत प्रहरी जवानदेखि डीआईजी तहसम्मकालाई विभिन्न सातवटा विधामा तालिम दिन लागिएको हो। प्रतिष्ठानका अनुसार कुल प्रहरी संख्या ७२ हजार सात सय ९ मध्ये ५५ हजार ९ सय २९ जनाले भर्ना भएलगत्तै लिएको आधारभूत तालिम बाहेक अन्य तालिम लिन पाएका छैनन्। यो संख्या प्रहरी हबल्दार र जवानको हो।

प्रहरी निरीक्षकलेखि डीआईजीसम्मकाले बढुवामा नम्बर चाहिने भएपछि पहुँचका आधारमा तालिम लिँदै आएका छन्।